6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

अस्पतालको शौचालयमा कैदीद्वारा आत्महत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६  

नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा कारागारमा रहेका एक कैदीले बिष सेवन गरेर आत्महत्या गरेका छन् । उपचारको लागि भेरी अस्पतालमा ल्याइएका कैदीले अस्पतालको शौचालयमा नै बिष सेवन गरेर मंगलबार दिउँसो आत्महत्या गरेका हुन् । बाँके जानकी गाउपालिका–३ का २५ वर्षिय सुनिलकुमार तिवारीले अस्पतालको शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

अस्पतालमा उनकी श्रीमती दानवती तिवारीले पनी बिष सेवन गरेकी थिइन् । दुवै जनाले सल्फास नामक बिषको सेवन गरेको अस्पतालले जनाएको छ । नेपालगन्ज नर्सिङ्गहोमको आइसियूमा राखेर श्रीमतीको उपचार भइरहेको छ । उपचारमा संग्लन डाक्टरका अनुसार उनको अवस्था गम्भिर रहेको छ । अहिलेसम्मको अनुसन्धानबाट श्रीमतीको सहयोगमा नै सुनिलकुमारले बिष सेवन गरेको पाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पौडेलले बताए । ‘अस्पतालमा आज (मंगलबार) उनको अपरेसन हुने दिन थियो’ उनले भने, ‘सोही क्रममा अस्पतालको शौचालय गएको बेला उनले बिष सेवन गरेका रहेछन् ।’

मृतक तिवारी २०७५ बैशाख ३ गते लागू औषध ब्राउनसुगरको मुद्दामा थुनुवाको रुपमा कारागारमा आएको र उनको मुद्दा फैसला भई मंगलबार मात्रै कैदीको पत्र कारागार आईपुगेको नेपालगन्ज कारागारका जेलर भरत पाण्डेले बताए । अदालतले आत्महत्या गरेका तिवारीलाई ७ वर्ष कैदको फैसला गरेको छ । भेरी अस्पतालमा बिष सेवन गरेका दुवै जनालाई उपचारका लागि नेपालगन्जमा नै रहेको नेपालगन्ज नर्सिङ्गहोममा लगिएको थियो ।

बाँके उच्च प्रहरी स्रोतका अनुसार श्रीमतीले नै पहिला बिष सेवन गरेर तिवारीलाई शौचालयमा बिष राखिदिएको संकेत दिएकी थिइन् । ‘बिष सेवन गरेर आत्महत्या गर्ने श्रीमान श्रीमतीको पुर्व योजना नै भएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो,‘सोही योजना अनुसार नै उनीहरुले एकैसाथ आज बिष सेवन गरेका हुन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     10:46:57 AM  |