3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

प्रेमीसँग गएकी किशोरी जंगलमा मृत फेला परिन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

सुर्खेत ।
शुक्रबार साँझ आफ्ना प्रेमीले बोलाएपछि एकान्तमा भेट्न गएकी १६ वर्षिया किशोरी शनिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन् ।

सिम्ता गाउँपालिका–४ नाडगाउँकी १६ वर्षिया रेखा खड्का शनिबार बिहान घरभन्दा चारसय मिटरको दुरीमा रहेको जंगलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।


शुक्रबार साँझ अबेरसम्म घर नआउँदा खड्कालाई परिवारले खोजी गरेका थिए । तर रातभर खोज्दा पनि नभेटाएपछि शनिबार बिहान मात्रै घरभन्दा पर लाश फेला परेको छिन्चुका प्रहरी निरिक्षक निरोज चौलागाईले जानकारी दिए । उनकाअनुसार मृतक खड्काको शव रुखमुनितिर फेला परेको हो ।

साथै रुखमा पासो लगाउन प्रयोग गरिएको सल फेला परेको छ । रेखाका साथीमार्फत परिवारले शुक्रबार साँझ आफ्ना प्रेमी बिमल भन्ने मोहन चन्दलाई भेट्न गएको जानकारी पाएका थिए । तर छोरी लामो समयसम्म घर नआउँदा खोजीको क्रममा रुखमा सल झुण्डिएको र लाश भुईमा लडेको पाएपछि प्रहरी चौकीमा बलात्कार तथा हत्या गरिएको भन्दै उजुरी दर्ता गराएका छन् ।

प्रहरी निरिक्षक चौलागाईले मृतक खड्काको घाँटीमा सामान्य निलडाम बाहेक अन्य केही नभेटिएकोले अहिले नै बलात्कारपछि हत्या भएको हो भन्ने स्पष्ट पार्न नसकिने बताए । परिवारको उजुरीका आधारमा रेखाका प्रेमी मोहन चन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको बताएको छ । मृतक खड्काको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । 

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     7:46:01 AM  |