कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका वडा नं. ७ लखनामा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सोमबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं.७ को आयोजनामा सञ्चालन गरिएको शिविरमा निलसागर वृद्धाश्रम नेपालगन्जका करिब ३० जना जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष दिपकजंग शाहले आगामी दिनहरुमा पनि आवश्यक परेमा वृद्धआश्रमलाई सहयोग गर्ने बताए । त्यस्तै शहरी स्वास्थ्य केन्द्र लखनाका प्रमुख सुधन बुढाथोकीले जेष्ठनागरिको स्वास्थ्यमा कुनै समस्या आएमा सक्दो सहयोग गर्ने बताए ।
शिविरमा निःशुल्क औषधी वितरण गर्नुका साथै जेष्ठनागरिकहरुलाई नगद रु ६ हजार ५५ हस्तान्तरण गरिएको थियो । शिविरमा शहरी स्वास्थ्य केन्द्र लखनाका प्रमुख सुधन बुढाथोकी, अ.हे.व राज कुमार चौधरीको संयुक्त टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा थप ६ जना बच्चाहरुको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।