1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बाँकेमा एक हजार एचआइभी सङ्क्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५  

नेपालगन्ज/  जिल्लामा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । अहिलेको नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्म बाँकेमा ९६२ एचआइभी सङ्क्रमित थिए ।

सो रोगका कारण अहिलेसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरि तिवारीले जानकारी दिए । कार्यालयका अनुसार आव २०७४÷७५ मा ५६५ पुरुष, ४३४ महिला र १३ तेस्रोलिङ्गी गरी जम्मा एक हजार १२ जना सङ्क्रमित छन् ।

एआरटी खानेको सङ्ख्या ४६० जना रहेको उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा १३ तेस्रोलिङ्गी, ५३५ पुरुष र ४१४ महिलालाई सङ्क्रमण भएको थियो । जिल्लामा २६ बालबालिकामा समेत सङ्क्रमण भएको तथ्याङ्कले देखाएको छ ।

असुरक्षित यौनसम्पर्क र सुइ, सिरिञ्जबाट लागूऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन् । कामका लागि विदेश गएकाहरुबाट पनि एचआइभी सरेको भेटिएको छ ।

अपहेलित हुने डरका कारण खुल्न नसकेका कतिपय सङ्क्रमित एआरटी सेवाबाट वञ्चित भइरहेका छन् । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही सङ्क्रमितले सेवा लिन नमानेको तिवारीको भनाइ छ ।

विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी÷एड्सको सङ्क्रमण देखिएकाले सिमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको छ ।

विभिन्न गैरसरकारी संस्थामार्फत लागुऔषध प्रयोगकर्तालाई पनि सचेत पार्ने र औषधि नियमित सेवन गराउने अभियान चलाइएको साबिकको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । -रासस

प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५     8:12:36 AM  |