26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०७५  

काठमाडौँ : (रासस)/  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उहाँले आज साँझ नै पदबहाली गर्ने जनाइएको छ ।

कानून मन्त्रालयको शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गर्नुभएका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रूपमा जन्मनुभएका ओमप्रकाश मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रूपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रूपमा काम शुरु गर्नुभयो ।

त्यसैगरी उहाँले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रूपमा क्रियाशील भएर काम गर्नुभयो । मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रूपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रूपमा काम गनुभयो ।

वातावरण र भ्रष्टाचार मुद्दामा छवि

विसं २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम शुरु गर्नुभएका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाउनुभएको छ । मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गर्नुभएको छ । सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उहाँले चीनको अदालतको अभ्यासको अध्ययन गर्नुभएको छ ।

त्यसैगरी न्यायपालिकाको योजना, अभ्यास र प्रक्रियाका सम्बन्धमा फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम र अमेरिकामा उहाँले अध्ययन भ्रमण गर्नुभएको छ । उहाँले मुद्दा व्यवस्थापन र मेलमिलाप सम्बन्धमा जापान र न्याय प्रणाली एवं न्यायपालिकासम्बन्धी अध्ययनमा अष्ट्रेलिया, श्रीलङ्का र फिलिपिन्सको अध्ययन भ्रमण गर्नुभएको छ ।

मिश्रले कामु प्रधानन्यायाधीशका रूपमा गत साउन २० गतेदेखि काम शुरु गर्नुभएको हो । प्रधानन्यायाधीशका रूपमा उहाँले पाँच महीना काम गर्नुहुनेछ । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उहाँले अवकाश लिनुहुनेछ । अबको वरिष्ठतम न्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा हुनुहुनेछ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०७५     1:33:53 PM  |