काठमाडौं,३ जेठ/ नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको एमाले र माओवादी केन्द्रको संयुक्त बैठकबाट एमाले र माओवादी केन्द्रलाई औपचारिकरुपमा विघटन गर्दै नयाँ पार्टी घोषणा गरिएको हो ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् । दुवै अध्यक्षले एक–अर्कालाई शपथग्रहण गराएका छन् ।
त्यसलगत्तै दुवैजनाले नयाँ पार्टीमा समेटिएका केन्द्रीय सदस्यहरुलाई सामूहिक शपथ गराएका छन् ।
नवगठित पार्टीमा ९ जनाको सचिवालय बनाइएको छ । जसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।
सचिवालयको महासचिवमा विष्णु पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई तोकिएको छ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको औपचारिक घोषणा भने बिहीबारै राष्ट्रियसभागृहबाट गर्ने तयारी गरिएको छ ।
४४१ जना केन्द्रीय सदस्य
नयाँ पार्टीमा ४४१ जना केन्द्रीय सदस्य र र ४३ जना स्थायी समिति सदस्य रहेका छन् । केन्द्रीय कमिटीमा माओवादी केन्द्रले ४५ प्रतिशत पाएको छ । पोलिटब्यूरो भने तत्काल बन्ने छैन ।
स्थायी कमिटी ४३ सदस्यीय
स्थायी कमिटी ४५ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुकाअनुसार स्थायी कमिटीमा एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना हुनेछन् ।
चुनाव चिह्न सूर्य
एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद–लेलिनवाद’ हुनेछ । राजनीतिक कार्यदिशा ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’ छ ।
एमालेले भन्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले भन्ने गरेको ‘२१औं शताब्दीको बहुदलीय जनवाद’लगायतका वैचारिक मान्यतामा छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।
-ujyaaloonline
प्रतिक्रिया दिनुहोस्