नगरप्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमण



भक्तपुर,८ वैशाख/  मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले शनिबार सांघातिक आक्रमण गरेका छन् ।

साँझ करिब ६ बजे उनको निवासअगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए ।

आक्रमणपछि घाइते भएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।

आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए । त्यसपछि आक्रमणकारीले प्रमुख श्रेष्ठ चढेको बा८च ८७२० नम्बरको गाडीमा तोडफोड गरेर पूर्णरुपमा क्षति पुर्‍याएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । रासस

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ८ गते शनिबार