’६ महिनाभित्र नेपालमा भारतको होइन, नेपालकै रेल चल्छ‘ : मन्त्री महासेठ



काठमाडौं,२१ चैत्र/   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालले आधुनिक रेल कुदाएर छाड्ने दाबी गर्नुभएको छ ।

बुधबार रिपोर्टर्स क्लबको एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने बताउनुभएको हो ।

‘प्रधानमन्त्रीले त दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढीमा अबको ६ महिनाभित्रै निश्चित दूरीमा रेल कुदाउँछौं’, मन्त्री महासेठले भन्नुभयो, ‘अहिले द्रुत गतिले काम भैरहेको छ । दुई वर्षभित्र त हामी रेलमार्गको लागि धेरै काम गरिसकेका हुनेछौं ।’

मन्त्री महासेठले थप्नुभयो, ‘जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म रेल सेवा पुर्याउँछौं । त्यसैगरी काठमाडौंबाट विरगञ्ज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायातमार्फत पनि हाम्रो मित्रता बढाउन विरगञ्ज–काठमाडौं जोड्ने रेल सेवा सञ्चालनको सोच बनाएका छौं, अरु त डीपीआर भएर काम नै सुरुवात भैसकेको छ।’

मन्त्री महासेठले उत्तरतिरबाट केरुङ र काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनीबीच पनि रेल सेवा सञ्चालन हुने बताउनुभयो । मन्त्री महासेठले ५ वर्षभित्रमा काठमाडौंबासिनदले रेल चढ्न पाउने दाबी गर्नुभयो ।

मन्त्री महासेठले नेपालमा कुद्ने रेल भारतको नभई नेपालले आफैँ बनाउने आश्वासन दिनुभयो ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार