कोहलपुर,१८ चैत/चालू आर्थिक वर्ष २०७४÷०७५ का दुई सय ७४ योजनामध्ये कोहलपुर नगरपालिकाले एक सय ७० वटा योजना उपभोक्ता समितिमार्फत् गरिरहेको छ । अहिलेसम्म ५६ वटा योजना सम्पन्न भइसकेको छ । तर, अधिकांश योजना गुणस्तरहीन भएको नगरस्तरीय अनुगमन समितिले जनाएको छ ।
नगर उपप्रमुख सञ्जुकुमारी चौधरीको सयोजंकत्वमा गठित नगरस्तरीय अनुगमन समितिले अनुगमनका क्रममा अधिकांश बाटोमा ग्राभेल तथा नालीको मापदण्ड नपुगेको भन्दै कतिपय उपभोक्ता समितिलाई सुधारपछि मात्र भुक्तानी दिन सिफारिस गरेको छ । स्टिमेट’ मापदण्डभन्दा बाहिर गरेर काम गरिएकाले योजनामा गुणस्तर आउन नसकेको अनुगमन समितिको भनाइ छ ।
कोहलपुरमा १७ वटा योजना ठेकेदारमार्फत् काम भइरहेको नगरपालिकाले जनाएको छ । अहिलेसम्म १४ वटा योजनाको अनुगमन भएको छ, तीनवटा योजना अनुगमन हुन बाँकी छन् । आर्थिक वर्ष सकिन साढे ३ महिना बाँकी रहँदा अझै ७० योजना सम्झौता हुन बाँकी छन् ।
चालू आर्थिक वर्षको ५० करोड एक लाख ५१ हजार बजेटमध्ये २३ करोड एक लाख २९ हजार आठ सय रुपैयाँ पूर्वाधार निर्माणमा विनियोजन गरिएको
छ । अधिकांश योजना उपभोक्ता समितिमार्फत् काम सुरु गरिएका छन् ।
एक करोडसम्मका योजना उपभोक्ता समितिमार्फत् गराइए पनि १७ योजना ठेकेदारमार्फत् काम सुरु गरिएको छ । १३ विगाहमा कल्भर्ट निर्माण, गोलपार्कमा घण्टाघर निर्माण, बन्दादेखि त्रिमाविसम्मको बाटो कालोपत्रे तथा खड्कवारदेखि सल्यानको घुइयाबारीसम्मको सडक निर्माण क्रमागत योजनामा छन् ।
कुन वडामा कति काम ?
वडा नम्बर १ को १४ वटा योजनामध्ये १३ योजना सम्पन्न भइसकेका छन् । ‘क’ लाइनको प्रहरी बिटदेखि पश्चिम तिलकराम नेपालको घरनिरको चोक र त्रिवेणी चोकदेखि दक्षिण मुसिकोटे लाइनको श्रीराम जैसीको घर चोकसम्म ३० लाख रुपैयाँको लागतमा कालोपत्रे गर्ने काम मात्रै बाँकी छ । वडा नम्बर २ का जम्मा योजना १७ वटा योजनामध्ये आठवटा सम्पन्न भएका छन् ।
वडा नम्बर ३ का १३ योजनामध्ये ६ वटा सम्पन्न भएका छन् । ४ का १३ योजनामध्ये चारवटा, ५ का १६ मध्ये चारवटा, ६ का ११ मध्ये एउटामात्रै सम्पन्न भएको छ भने तीनवटा सम्पन्न हुने क्रममा छन् । त्यस्तै वडा नम्बर ७ का १४ योजनामध्ये एउटा सम्पन्न भएको छ भने पाँचवटा योजना सम्पन्न हुने क्रममा छन् ।
८ का १५ योजनामध्ये ११ वटा सम्पन्न भइसकेका छन् । ९ का १२ योजनामध्ये तीनवटा योजना सम्पन्न भएका छन् । १० का १९ वटा योजनामध्ये १३ वटा योजना सम्पन्न भइसकेका छन् । ११ का २१ योजनामध्ये १० वटा, १२ का १३ मध्ये ८ वटा योजना सम्पन्न भएको योजना शाखाले जनाएको छ ।
त्यस्तै वडा नम्बर १३ का ११ योजनामध्ये सातवटा सम्पन्न भएका छन् । पछिल्लो समय वडा नम्बर १३ सिम्रीमा १४ लाखको लागतमा कल्भर्ट सम्पन्न भएको
छ । वडा नम्बर १४ को २५ योजनामध्ये चार वटा सम्पन्न भए । १५ का २७ योजनामध्ये १४ वटा योजना सम्पन्न भएको योजना शाखाले जनाएको छ ।
अधिकांश योजना गुणस्तरहीनः उपप्रमुख
कोहलपुर नगरपालिका उपप्रमुख तथा नगरस्तरीय अनुगमन समिति संयोजक सञ्जुकुमारी थारुले उपभोक्ता समितिमार्फत् गराइएका अधिकांश योजना गुणस्तरहिन भएको बताइन् । ‘स्टिमेट’ मापदण्डभन्दा बाहिर गरेर काम गरिएकाले योजनामा गुणस्तर नभएको उनको भनाइ छ । ‘उपभोक्ता समितिमार्फत् काम गराउँदा प्रभावकारी हुन्छ भनिए पनि त्यस्तो पाइएन,’ उनले भनिन्, ‘आगामी वर्षमा नीतिगत योजना बनाएर काम गर्छौं ।’
वडाध्यक्ष भन्छन्, ‘काम गुणस्तरहीन छैन’
कोहलपुरका वडाध्यक्षहरूले भने काम गुणस्तरहीन नभएको बताएका छन् । आफ्नो वडामा सञ्चालित योजनाहरुको काम गुणस्तरीय भएको उनीहरूले दाबी गरेका छन् । केही योजनामा अनुगमनपछि सुधार गरिएको वडाध्यक्षहरूले बताएका छन् ।
गोपी खनाल
अध्यक्ष (वडा नं. १)
हाम्रो वडामा १४ योजनामध्ये १३ योजना सम्पन्न भइसकेका छन् । अहिलेसम्म गरेका काम गुणस्तरीय नै भएको छ । उपभोक्ता समितिद्वारा सञ्चालित योजना गुणस्तरहीन छ भन्ने एउटा हल्ला मात्र हो । यो समयमा काम गर्नेभन्दा कुरा काटनेहरू धेरै छन् । त्यसैले यस्तो हल्ला आएको हो । हामीले सबै काम ध्यानपूर्वक गरिरहेका छौँ ।
कर्णसिंह क्षेत्री
अध्यक्ष (वडा नं. २)
यहाँ १७ वटा योजनामध्ये आठ वटा योजना सम्पन्न भएका छन् । हामीले पटकपटक अनुगमन गर्दै काम अगाडि बढाउँदै गरेका छौं । आठवटा योजनामध्ये लक्ष्मी माविदेखि गोरीडाँडासम्मको बाटोमा ग्राभेल पातलो भएको छ । यसलाई फेरि थपप्नुपर्छ भनेपछि हामीले फेरि थप्यौं । काम सकेपछि अनुगमन टोली आएर चेकचाँज गरिसकेपछि पास गरेको छ ।
तिरथराम थारु
अध्यक्ष (वडा नं. ४)
हामीले १३ वटा योजनामध्ये चारवटा योजनाहरु सम्पन्न गरिसकेका छौं । हामीले गरेको योजनामध्ये जितबहादुर थारुको घरदेखि तुलसी बगरसम्म निर्माण भएको ग्राभेल बाटोमा कुनै स्थानमा ४÷५ इन्च नपुगेपछि कोहलपुर नगर उपप्रमुख सन्जुकुमारी थारुले नै आएर यो भएन भनेपछि हामीले त्यसमा फेरि थपेर पूरा गरेका छौं । अन्य योजनाका कामहरू कुनै पनि नराम्रो भएको छैन । नगरपालिकाबाट दिएको मापदण्डअनुसार नै काम गरिरहेका छौं ।
विष्णुप्रसाद तिवारी
अध्यक्ष (वडा नं. ५)
अहिलेसम्म हामीले १६ वटा योजनामध्ये चारवटा योजना सम्पन्न गरिसकेका छौं । कुनै पनि सम्पन्न भएका योजनाहरु गुणस्तरहीन छैन । सबै योजनाहरु हाम्रै निगरानीमा भएका छन् । गुणस्तरहीन भन्ने आरोप मात्रै हो ।
रामसोहन चैधरी
अध्यक्ष (वडा नं. ६)
अहिलेसम्म १७ वटा योजनामध्ये आठवटा सम्पन्न भएका छन् । जति योजनाहरु सम्पन्न भएका छन्, ती सबै योजनाका सबै कामहरु मापण्डमा नै रहेर काम भएको छ । गुणस्तरमा कुनै कमी छैन । अनुगमन टोलीले पनि नराम्रोलाई नराम्रो भनेपछि राम्रो हुने
थियो । उपभोक्ता समितिद्वारा सञ्चालित योजना कुनै स्थानमा पनि कमी कमजोरी गरेका छैनाँै । अधिकांश योजना गुणस्तरहीन भन्ने हल्ला मात्र हो ।
दिपकजंग शाह
अध्यक्ष (वडा नं. ७)
हामीले अहिलेसम्म १४ योजनामध्ये एउटा सम्पन्न भएको छ भने पाँचवटा योजना सम्पन्न हुने क्रममा छन् । हाम्रा वडामा अनुगमन टोली पुगेको नै छैन । के मा कमी भयो हामीलाई जानकारी दिनुप¥यो । हामीले निर्माण गरेका सबै कामहरु मापदण्ड पूरा गराएर नै काम गराएको र गुणस्तरमा कुनै कमी छैन ।
रेशमबहादुर खत्री
अध्यक्ष (वडा नं. ८)
हाम्रो वडामा अहिलेसम्म १५ योजनामध्ये ११ वटा सम्पन्न भइसकेका छन् । मैले गरेका विभिन्न योजनाहरूमा मापदण्ड पूरा गरेर मात्र काम गराएको छु । अनुगमन टोली अहिलेसम्म आएको छैन । कुनै पनि योजना गुणस्तरहीन छैनन् ।
ठाकुर प्रसाद थारु
अध्यक्ष (वडा नं. ९)
उपभोक्ता समितिद्वारा सञ्चालित १२ वटा योजनामध्ये तीनवटा योजना सम्पन्न भइसकेका छन् । सबै योजना गुणस्तरीय छन् । योजना पास गर्ने क्रममा सबै काम राम्रो छ भनेर भन्ने अहिले आरोप लगाउन मिल्दैन । हामीले सबै योजनाहरू मापदण्ड पूरा गराएर नै काम अगाडि बढाएका हौं ।
कर्ण बहादुर थापा
अध्यक्ष (वडा नं. ११)
हाम्रो वडामा २१ योजनामध्ये १० वटा योजना सम्पन्न भइसकेका छन् । कुनै पनि योजनाका कामहरु गुणस्तरहीन छैनन् । यदि योजना गुणस्तरहीन भएको भए किन इन्जिनियरले पास गरेका हुन् ? हामीले सबै काम र योजना मापदण्ड पूरा गरेर गरेका छौँ ।
कृष्ण बहादुर खड्का
अध्यक्ष (वडा नं. १२)
अहिलेसम्म हाम्रो वडामा १३ वटा योजनामध्ये आठवटा योजना सम्पन्न भइसकेका छन् । हामीले सबै योजना मापदण्ड पूरा गरेर मात्र काम अगाडि बढाएका छौं । गुणस्तरीय छ वा छैन भन्ने विषयमा प्राविधिकले जान्नु पर्ने हो । कुनै परियोजना राम्रो छैन भने त काम गर्दैगर्दा आएर जानकारी दिएपछि सुधार हुने थियो । समयसमयमा आएर अनुगमन गरेपछि मात्र काम गुणस्तरीय हुन्छ ।









प्रतिक्रिया दिनुहोस्