काठमाडौं,१६ चैत/ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । नेपालसँगै भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीले चैत २३ गते भारतको भ्रमण गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । यद्यपि यसको औपचारिक समय तय भएको छैन ।
साथै उहाँले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रमा भाग लिन प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माओवादी केन्द्रसँग गठबन्धन गरेर सत्ताको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमणमा भारत जान लाग्नुभएको हो ।