1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

एमाले–माओवादी पार्टी एकताले गति लिँदै, छिट्टै पार्टी एकता हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १५, २०७४  

काठमाडौं,१५ चैत/  लामो समयदेखि अल्मलिएको एमाले–माओवादी एकता प्रक्रियाले गति लिएको छ ।

एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तयार पारेको छ । राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलले पनि बिहीबार राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिंदैछ ।

एमाले नेता एवम् कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले बेलुका ५ बजेदेखि राती १० बजेसम्म बैठकको समय निर्धारण भएको जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा शत प्रतिशत सहमति भएको दाबी गर्दै उहाँले भन्नुभयो, रातीसम्म प्रतिवेदनलाई अन्तिम रुप दिन्छौं ।

विधान र सांगठनिक खाका तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तयार पारिसकेको भन्दै अब राजनीतिक प्रतिवेदन पनि तयार भएपछि शुक्रबार पार्टी एकता संयोजन समितिलाई बुझाउने उहाँले जानकारी दिनुभयो । दुबै कार्यदलले बुझाएको प्रतिवेदनलाई अनुमोदन गर्न एकता संयोजन समितिको बैठक पनि छिट्टै बस्ने बताउनुभयो ।

माओवादी केन्द्रले पछिल्लो समय उठाउँदै आएको समान हैसियतको मागप्रति अनविज्ञता प्रकट गर्दै उहाँले कार्यदलको प्रतिवेदन अनुसार पार्टी एकता हुने बताउनुभयो । चैत २३ गते भन्दा अघि नै पार्टी एकता गर्ने तयारीमा आफुहरु रहेको उहाँको भनाई थियो ।

स्रोतका अनुसार अन्तरिम राजनीतिक प्रतिवेदनमा जबजका मूलभूत विशेषता स्वीकार गरिएको छ । तर, एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकताको महाधिवेशनबाट टुंगो लगाउने गरी बहसमा लैजाने समझदारी भएको छ । हाललाई भने दुवै पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मानिने समझदारी भएको छ ।

चैत २३ अघि एकता हुने सम्भावना कम
एमाले–माओवादी पार्टी एकीकरण चैत २३ गते हुने सम्भावना लगभग न्यून देखिएको छ । पार्टी एकताका लागि गठित कार्यदलले आफ्नो गृहकार्य पूरा गरेपनि पछिल्लो राजनीतिक घट्नाक्रमले तत्काल एकता प्रक्रिया हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समान हैसियत नभएसम्म पार्टी एकता हुन नसक्ने बताएपछि एकता प्रक्रिया जटिल बनेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सम्मानजनक स्थान नपाएसम्म पार्टी एकता हुन नसक्ने बताउनुभयो । संसदबाट चुनिने पदीय भागबण्डमा ६०–४० को भागबण्डा गर्ने सहमति भएपनि पार्टी एकता घोषणा गर्नेबेला कसले कति पाउने भन्नेबारे कुनै सहमति नभएको उहाँको दाबी थियो ।

६०–४०, ७०–३० र ५०–५० प्राविधिक कुरा भएको भन्दै उहाँले भन्नुभयो, तत्काल पार्टी एकता हुनेमा अन्यौल त भन्न मिल्दैन, अब कार्यदलको रिपोर्टबाट थाहा हुन्छ ।’ उहाँले चैत २० गते केन्द्रीय सचिवालयको बैठक बसेर निष्कर्ष पुगिने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अप्रिल २२ को अवसरमा समेत पार्टी एकीकरण हुने निश्चित नभएको स्रोतले जनाएको छ ।

संगठनात्मक संरचना
एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ । अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठित कार्यदलले बुधबार बुझाएको प्रतिवेदन अनुसार केन्द्रदेखि प्रारम्भिक कमिटीसम्म गरी ८ तहको हुनेछ ।

प्रतिवेदन अनुसार केन्द्रमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने भएको छ । यस्तै पोलिटब्युरो केन्द्रीय समितिको एक तिहाई अर्थात ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति अर्थात ३३ सदस्यीय कमिटी रहनेछन् । केन्द्रमा राष्ट्रिय परिषद र प्रदेशमा समेत प्रदेश परिषद रहने व्यवस्था पनि गरिएको छ ।
पदेन संख्या र मनोनित ५० प्रतिशत हुने गरी जम्बो राष्ट्रिय परिषदको व्यवस्था विधानमा समेटिएको छ । केन्द्रीय समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिने र समसामायिक विषयमा प्रस्ताव पारित गर्ने अधिकार हुने गरी राष्ट्रिय परिषद रहनेछ ।

यसैगरी प्रदेश कमिटीमा १ सय ५१ सदस्य रहने व्यवस्था विधानमा गरिएको छ । यद्यपि भौगोलिक संरचना, निर्वाचन क्षेत्र, पार्टी सदस्य संख्या आदि अनुसार संख्यामा घटबढ गराउन सकिने छ । यसैगरी एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा ७५ जनाको जिल्ला समिति रहने छ ।

तर, एकभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रमा ५ जनाका दरले थपिँदै लैजाने व्यवस्था पनि छ । यसैगरी महागनर कमिटीमा ७५ जना रहने भएको छ । महानगर कमिटीको जिल्ला कमिटी सरहको हैसियत रहने विधानमा उल्लेख छ ।

यस्तै उपमहानगर कमिटीमा ६१ जना, नगर कमिटीमा ५१ जना, गाउँ कमिटीमा ५१ जना, वडा कमिटीमा २५ जना र प्रारम्भिक कमिटीमा १५ जना रहने भएको छ ।
केन्द्रदेखि प्रारम्भिक कमिटीको पदावधि भने फरक फरक हुनेछ । विधान अनुसार केन्द्रको ५ वर्ष, प्रदेशको ४, जिल्लाको ३, नगरको २ तथा वडा र प्रारम्भिक कमिटीको १ वर्षको पदावधि हुनेछ ।

भ्रातृ संगठन एकता गर्न छुट्टै कार्यदल गठन गर्ने
पार्टी एकता भइसकेपछि एकीकृट पार्टीले बनाउने संगठन विभागले भ्रातृ संगठनको प्रतिनिधि राखेर छुट्टै कार्यदल बनाउने भएको छ । त्यसरी बन्ने कार्यदलले तयार पारेको विधानका आधारमा संगठनको एकीकरण हुने भएको छ ।

एमालेका २२ र माओवादीका २४ जनसंगठन अहिले क्रियाशील रहेका छन् । एकीकृत पार्टी निर्माणपछि उस्तै भएका संगठनलाई मिलाएर एउटै संगठनमा समेटिनेछन् ।

चुनाव चिह्न र प्रस्तावनामा विवाद
एकीकृत पार्टीको विधानको प्रस्तावना र चुनाव चिन्हमा सहमति जुटिसकेको छैन । एमालेले सूर्य चिह्नलाई एकीकृत पार्टीको चुनाव चिन्ह बनाउनुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले सूर्यभित्र हसियाँ हथौडालाई समावेश गरी चुनाव चिन्ह बनाउनुपर्ने प्रस्ताव गरेको छ ।

दुवै दलले अडान नछाडेपछि चुनाव चिन्ह र प्रस्तावनाको विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई नै दिने भएको छ ।

-ujyaaloonline.com

प्रकाशित मितिः बिहिबार, चैत्र १५, २०७४     7:45:36 PM  |