8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

फोर्ब्सको सूचीमा पाँच नेपाली युवा उद्यमी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १३, २०७४  

काठमाडौं,१३ चैत/  फोर्ब्स पत्रिकाले निकालेको सन् २०१८ को ३० वर्ष मुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच जना युवा पर्न सफल भएका छन् ।

फोर्ब्सले निकालेको थर्टी अण्डर थर्टी एसिया सूची अन्तर्गत सामाजिक उद्यमशीलता विधामा नेपालका पाँच जना सामाजिक उद्यमी युवा परेका हुन् ।

फोहोर मैला व्यवस्थापना तथा कवाडी सामान व्यवस्थापन तथा पुनः प्रयोगका लागि ‘खाली सिसी’ नामक संस्था स्थापना गरेकी आयुषी केसी यो सूचीमा पर्नुभएको छ ।

केसीले ‘खाली सिसी’ मार्फत शहरका विभिन्न ठाउँमा पुगी कवाडी सामान संकलन तथा त्यसको पुनः प्रयोगको अभियान थाल्नुभएको थियो ।

त्यस्तै यो सूचीमा नेपालकी कञ्चन अमात्य पनि पर्नुभएको छ । ‘सस्टेनेबल फिस फार्मिङ इनिसिएटिभ’ की संस्थापक कञ्चनले ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तथा खाद्य असुरक्षा र गरिबी हटाउन पहल गर्दै आउनुभएको छ ।

यो सूचीमा पर्ने अरु नेपाली युवामा सचित पण्डित, निशान चण्डी श्रेष्ठ, सुवास श्रेष्ठ रहेका छन् । यी तीन युवाले ‘इको सेल इण्डस्ट्रिज’ नामक संस्था स्थापना गरी सुलभ मूल्यमा भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि आवश्यक सामग्री निर्माण गर्दै आएका छन् ।

फोर्ब्सले विभिन्न १० वटा विधामा ३० –३० जना गरी ३ सय जना युवालाई हरेक वर्ष फोब्र्स थर्टी अण्डर थर्टी मा समावेश गर्दै आएको छ ।-ujyaaloonline.com

प्रकाशित मितिः मङ्लबार, चैत्र १३, २०७४     7:05:41 PM  |