सडकपेटीको अतिक्रमण हटाउन डोजर



दाङ,७ चैत/   तुलसीपुर उप महानगरपालिकाले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन डोजर चलाएको छ । सडक पेटी अतिक्रमण गरी निर्मित फलामे भर्याङ, होर्डिङ बोर्ड र अन्य संरचना हटाउन मंगलबारदेखि उपमहानगरपालिकाले डोजर चलाएको हो ।

मेयर घनश्याम पाण्डेले नगरलाई हराभरा, सुरक्षित र व्यवस्थित गर्ने अभियानअन्तर्गत अतिक्रमण गरी निर्मित संरचना हटाउन सुरू गरिएको बताए । उपमहागनरपालिकाले विगत तीन महिनादेखि सार्वजनिक सूचनामार्फत् सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन आग्रह गर्दै आएको थियो ।

‘हाम्रो आग्रहलाई व्यवास्ता गर्ने र अटेरी गर्नेहरूका बिरुद्ध हामी डोजर चलाउन बाध्य भएका हौं,’ मेयर पाण्डेले भने । उनले बजारलाई कुरुप देखाउने गरी निर्मित होर्डिङ बोर्डदेखि सम्पूर्ण सामग्री तत्काल हटाउने बताए ।

उनले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन अटेर गर्नेहरू, सडक पटी ओगटेर व्यापार गर्नेहरू र मनपरी फोहर गर्नेहरूलाई आर्थिक जरिवानाका साथै कानूनी कारवाही थाल्ने चेतावनी दिए ।

मेयर पाण्डे आफै अतिक्रमण गरी निर्मित संरचना हटाउन अभियानमा सहभागी थिए । तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी र सरोकारवालाहरूको समेत बाक्लो उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ७ गते बुधबार