20 June 2024  |   बिहिबार, असार ७, २०८१

महाकाली सीमा पारी भारतले धमाधम सडक बनाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४  

दार्चुला,२५ फागुन/  भारत, नेपाल र चीनको त्रिदेशीय सीमाक्षेत्रमा भारतले निर्माण गरिरहेको सडकमा पुल निर्माण गर्न सामग्री हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।

भारत सरकारको सडक निर्माण कम्पनी सीमा सडक संगठनले बनाइरहेको सडकमा बेलिब्रिजका सामान ढुवानी गरिएका हुन् ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला सदरमुकामबाट फागुन २२ गतेदेखि हेलिकप्टरमार्फत पुलका सामान ढुवानी भइरहेको भारतीय अखबार हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । पिथौरागढस्थित नैनीसैनी हवाईमैदानबाट त्रिदेशीय सीमाक्षेत्र रहेको गुञ्जीमा मोटरपुलको सामान ढुवानी भइरहेको छ ।

भारतीय वायुसेनाको जेडपी ५२२१ आइएएफ हेलिकप्टरमार्फत पुलका सामान बोकिएका छन् । फागुन २२ गते मंगलबार मात्रै हेलिकोप्टरले तीन पटक सामान ढुवानी गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ ।

सडक निर्माणअन्तर्गत छियालेक र गव्र्याङको बीचमा बेलिब्रिज राखिनेछ । यसअघि कुटी याङ्दी नदीमा पनि भारतको सडक निर्माण कम्पनी सीमा सडक संगठनले बेलिब्रिज राखिसकेको छ । कुटी याङ्दी नदी वास्तविक नाम काली नदी अर्थात महाकाली नदी हो । लिम्पियाधुराबाट बग्ने र पानीको मात्रा बढी भएको यो नदीलाई भारतले आफ्नो भूमिको नदी भन्दै आएको छ । कुटी याङ्दीदेखि उत्तरपूर्वी भाग भएर बग्ने सानो नदीलाई भारतले महाकाली नदी भन्दैआएको छ ।

छिमेकी भारतले नेपाल, चीन र भारतको त्रिदेशीय सीमाक्षेत्रको सडक निर्माणलाई तीव्रता दिएको छ । दार्चुला सदरमुकाम खलंगासँग जोडिएको धारचुलादेखि महाकाली नदी किनारैकिनार भारतले सडक निर्माण गरिरहेको छ ।

भारतको केन्द्र सरकारले सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । सीमा सडक नाम दिइएको यस सडकको लम्बाई धारचुलादेखि लिपुलेकसम्म एक सय किलोमिटर छ । धारचुलादेखि लखनपुरसम्म करिब ५० किलोमिटर सडक निर्माण भइसकेको छ भने छियालेकदेखि गव्र्याङ, गुञ्जी हुँदै कालापानीसम्म पनि कच्ची सडक निर्माण भइसकेको छ ।

लखनपुरदेखि बुँदीसम्मको १६ किलोमिटर लामो सडक बनाउन मात्रै बाँकी छ । अप्ठेरो भूगोल र कडा चट्टान भएकाले त्यस क्षेत्रमा सडक निर्माणमा समय धेरै लागेको छ ।

केही हप्ताअघि सडक निर्माण गर्न बाँकी रहेको क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि भएर हेभी इक्वीपमेन्ट ढुवानी समेत गरेको छ । नेपाल सरकारको अनुमति नलिई भारतले त्यसक्षेत्रमा मेसिन ढुवानी, महाकाली नदी किनारको नेपाली भूमिमा बाटो निर्माण र काठेपुल निर्माण समेत गरेको थियो । सडक निर्माणमा संलग्न मजदूर र सामान ढुवानी गर्न काठेपुल बनाइएको थियो ।

-ujyaaloonline.com

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४     7:20:15 AM  |