1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

संघीय सांसदको शपथ आज, चौधरी र सिलवाल गए सपथ लिन पाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४  

काठमाडौं,२० फागुन/   संघीय संसदका सांसदको सपथ ग्रहण आइतबार हुँदैछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि बल्ल सांसदले सपथ लिन लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ ।

प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग शपथ लिनेछन् । त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो बैठक सोमबारका लागि आह्वान गरेपछि आइतबार सांसदको सपथ ग्रहण हुन लागेको हो । संघीय संसद सचिवालयले आइतबार हुने सपथ र भोली बस्ने पहिलो बैठकको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको चुनाव नभएसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वाेच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरूको शपथ अनिश्चित छ ।

सर्वोच्च अदालतले यो मुद्दामा आइतबार सुनुवाई राखेकाले सपथ ग्रहण सुरु हुनु अगावै सर्वोच्चले सरकारले गरेको राष्ट्रियसभाको मनोनयनलाई कानुनसम्मत ठहर्याए तीनजनाले पनि आइतबार नै सपथ ग्रहण गर्न पाउनेछन् । कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालका बारेमा कुनै निकायबाट लिखित जानकारी नआएकाले उहाँहरू आएमा शपथ लिन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेकोमा रेशम चौधरी पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । त्यस्तै, राष्ट्रियसभाका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका तीनजनाको सपथ हुने नहुने अनिश्चित रहेकाले कम्तिमा ३ सय ३५ जना सांसदको सपथ ग्रहण हुन लागेको हो ।

४४ जनाले मातृभाषामा शपथ लिने प्रतिनिधिसभामा ३८ र राष्ट्रियसभामा ६ जनाले मातृभाषामा सपथ ग्रहण गर्ने सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन ४४ जना सांसदले लिखित जानकारी गराएको बताउनुभयो । सपथ ग्रहणका लागि दौरा सुरुवाल, सारी चोलो वा आफ्नो पहिचान झल्काउने जातीय भेषभुषा लगाउन सकिने उहाँले बताउनुभयो ।

कार्यसूचीका लागि १० बजे छलफल संघीय संसदको कार्यसूचीका लागि बिहान १० बजे आगामी कार्यसूची तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग छलफल गर्ने भएको छ । कार्य सञ्चालन नियमावली नबनुन्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ । मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि कार्यसूची बन्नेछ ।

एकै दिन एकै समयमा दुवै सदनको बैठक आह्वान भए पनि ती सदनको बैठक अलगअलग रूपमा सम्बन्धित सदनको कक्षमा बस्नेछ । जसमा सभामुख, राष्ट्रियसभाको अध्यक्ष चयनको प्रक्रियाका बारेमासमेत छलफल हुनेछ । संघीय संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको प्रवक्ता डा गौतमले बताउनुभयो ।

-ujyaalooline.com

प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४     8:13:37 AM  |