19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अब नेपालको इतिहास जनताको पक्षमा लेखिनेछ : दाहाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

काठमाडौं,११ फागुन/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यकरुपमा गडबड गर्नसक्ने संकेत गरेका छन् ।

अध्यक्ष दाहालले भने–‘नेपालको राजनीतिक इतिहासमा रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेको इतिहास छ । ठूला पार्टीबीचको एकता प्रक्रिया आमजनताले अनुमोदन गरेको भएपनि परिवर्तन नचाहने प्रवृत्तिलाई मनपरेको छैन ।’

रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बृहद् बहस सिर्जना गरेको र परिवर्तनकामी समुदायमा खुसीको सन्चार गरेको बताए ।

फरक–फरक राजनीतिक दृष्टिकोणका साथ राजनीतिक मैदानमा रहेको एमाले र माओवादीबीचको एकता सामान्य परिघटनामात्रै नभइ नयाँ इतिहासकोसमेत सूत्रपात भएको उनको भनाइ थियो ।

‘कम्युनिस्ट आन्दोलनमा नयाँ विमर्श, नयाँ बहस सुरु भएको छ । केहीलाई मन नपर्न सक्छ । तर, राजनीतिक इतिहासमा एउटा महान् प्रक्रिया सुरु भएको छ । यसलाई सफल बनाउनु हामी सबैको दायित्व हो’–अध्यक्ष दाहालले भने ।

उनले नेपालमा पहिलोपटक करिब दुईतिहाइ मतका साथ वामपन्थी सरकार गठन भएको र जनताको अपेक्षालाई क्रमबद्धरुपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

वामपन्थी शक्ति मिलून् भन्ने जनताको विगत लामो समयदेखिको अपेक्षा रहेको भएपनि नेतृत्वले सकारात्मक पहल गर्न नसक्दा सफल नभएको दृष्टान्त पेस गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअगाडि भएको वाम गठबन्धनको निर्णयलाई जनताले अनुमोदन गरेको स्पस्ट पारे ।

राजनीतिक स्थायित्वलाई संस्थागत गर्न आर्थिक समृद्धि र विकासको नारा अगाडि सारिएको स्पस्ट पार्दै उनले जनताको अपेक्षा सम्बोधन गर्न वामपन्थी शक्ति एकाकार भएर लाग्ने बताए ।

फरक एक प्रसंगमा उनले विगतमा राजा–महाराजकोमात्रै इतिहास लेखिने गरेको भएपनि अब नेपाली जनताको इतिहास संस्थागत हुने उल्लेख गरे ।

‘नेपाली जनताले पूर्णरुपमा अधिकार प्राप्त गरिसके र विजयी भइनसकेको भएपनि परिवर्तन अस्वीकार गर्ने शक्ति क्रमशः पराजित हुनेक्रममा पुगेको छ । अब नेपालको इतिहास जनताको पक्षमा लेखिनेछ’–अध्यक्ष दाहालले भने ।

नेपाली इतिहास जनताको पक्षबाट नलेखिएको भन्दै उनले सधैं राजा, महाराजा र विजेता वर्गलाई नायक बनाएर जनताको भावनाको अवमूल्यन गरिएको भएपनि अब त्यस्तो हुन नदिने स्पस्ट पारे ।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक मुरारी अर्यालले शासकले पढाएको इतिहास पढ्दै र लेख्दै आएका नेपाली जनतालाई माक्र्सवादी दृष्टिकोणबाट इतिहास पढ्ने र लेखाउनेक्रम सुरु भएको बताए ।

जनताको दृष्टिकोणबाट इतिहास लेख्नेक्रम सुरु भएकामा लेखक अर्यालले खुसी व्यक्त गरे ।

स्तम्भकार तथा लेखक झलक सुवेदीले हरेक इतिहास सामान्तवादी कोणबाटमात्रै लेखिएको, पढाइएकाले फरक पाटो सधैं ओझेलमा पर्ने गरेको उल्लेख गरे । उनले जनताको इतिहास लेख्ने र संस्थागत गर्ने प्रयास हुनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य लेखक रेग्मीले लिच्छवीकालदेखि हालसम्मको नेपाली राजनीतिक घटनाक्रमलाई जनपक्षीय कोणबाट लेख्ने प्रयास गरेको बताए ।

जागरण बुकले प्रकाशन गरेको उक्त पुस्तक ५६४ पेजमा समेटिएको छ । -रासस

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     7:41:29 PM  |