24 September 2023  |   सोमवार, अशोज ८, २०८०

फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने आयोगको निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

काठमाडौं,१० फागुन/ नयाँ राष्ट्रपति चयनका लागि फागुन २९ गते चुनाव हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार चुनाव भएकै दिन बेलुका ४ बजेपछि मतगणना हुनेछ । राष्ट्रपति चुनावका लागि २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २२ गते मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने साथै मतदाता नामावली माथि दावी विरोध गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र त्यही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । आयोगले मनोनयनपत्र दर्ता भएकै दिन उम्मेदवारको दावी विरोधमा उजुरी दिने कार्यतालिका तोकेको छ ।

२४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसै दिन उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको आयोगले जनाएको छ ।

राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएपछि मात्र उपराष्ट्रपति चुनावका लागि मिति तोकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

-ujyaaloonline.com

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     7:23:57 PM  |