पार्टी एकताबारे ओली र दाहालबीच छलफल



काठमाडौं,२५ माघ/  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे छलफल भएको अध्यक्ष दाहालका प्रमुख स्वकीयसचिव जोखबहादुर महराले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्‍याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमासमेत दुई नेताबीच छलफल भएको महराले बताए ।

संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल भइ वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिकरुपमा मिलान गर्न समिति गठन गर्ने तयारी हुने बुझिएको छ ।

एकता प्रक्रियाले गति नलिएको तथा पछिल्ला दिनमा दुई नेताबीच छलफलसमेत हुन छाडेको सन्दर्भमा शुक्रबार छलफल भएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार