चैत्र २४ गते हुने शिक्षक लाइसेन्सका लागि दरखास्त आव्हान



काठमाडौं,२३ माघ/   शिक्षक सेवा आयोगले लामो समयको अन्तराल पछि अध्यापन अनुमति पत्र (शिक्षक लाईसेन्स) को लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आगामी चैत २४ गते माध्यमिक तहको अस्थायी अध्ययन अनुमतिपत्रको लिखित परीक्षा लिने भएको हो । परिक्षा फारम फागुन २० गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन २७ गतेसम्म भर्न सकिने शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जनाएको छ । अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनेका लागि आयोगले केही शर्तहरुसमेत राखिएका छ्न ।

जसअनुसार शैक्षिक योग्यता स्नातकोत्तर उतिर्ण हुनुपर्ने, शिक्षक सेवा आयोग नियमावली, २०५७ (नवौं संशोधन) को नियम ६ घ को उपनियम (२ क) अनुसार सेवा सुरु गरेको २ वर्षभित्र १० महिने तालिम वा वि.एड गरेको हुनुपर्ने सर्त रहेका छन् । अन्यथा अध्यापन अनुमति पत्र रद्द हुने आयोगले जनाएको छ । तर पहिले नै तालिम वा विएड गरेकाले भने प्रक्रियाअनुसार स्थायी लाईसेन्स नै पाउने भएका छन् ।

आयोगले दरखास्त दिन ५ ओटा कार्यालयहरु तोकेको छ । जसमा जिल्ला शिक्षा कार्यालय झापा, जिल्ला शिक्षा कार्यालय काठमाडौं, जिल्ला शिक्षा कार्यालय कास्की,जिल्ला शिक्षा कार्यालय बाँके,जिल्ला शिक्षा कार्यालय कञ्चनपुर रहेका छन् ।

परीक्षा संचालन हुने स्थान दरखास्त संकलन केन्द्र रहेको जिल्लामै रहने भएपनि केन्द्र भने पछि तोकिने आयोगले जानएको छ । लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णाङ्क पचास राखिएको छ । परिक्षाका लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार