काठमाडौं,१३ माघ/ निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिह्न प्रदान गर्दैछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा आइतबार दिउँसो २ बजेसम्मको समय दिइएको छ ।
सो निर्वाचनका लागि प्रदेश नम्बर–१ को विराटनगर, प्रदेश नम्बर–२ को जनकपुरधाम, प्रदेश नम्बर–३ को पाटन, प्रदेश नम्बर–४ को पोखरा, प्रदेश नम्बर–५ को दाङ, प्रदेश नम्बर–६ को सुर्खेत र प्रदेश नम्बर–७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य मतदाता छन् ।
प्रदेश नम्बर–१ मा ३६७, प्रदेश नम्बर–२ मा ३७९, प्रदेश नम्बर–३ मा ३४८, प्रदेश नम्बर–४ मा २३०, प्रदेश नम्बर–५ मा ३०५, प्रदेश नम्बर–६ मा १९८ र प्रदेश नम्बर–७ मा २२९ मतदाता रहेको आयोगले जनाएको छ ।
उक्त निर्वाचनमा ९ राजनीतिक दलबाट समूहगतरूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् ।
आगामी निर्वाचनबाट तीन महिला, एक दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् ।
५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्