पार्टी एकताको विरोध गर्नुको औचित्य छैनः प्रचण्ड



काठमाडौं,६ माघ/  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी-एमाले एकताको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

वैचारिक विषयमा छलफल सुरु भएको भन्दै उनले अहिलेसम्म माओवादीले माओवाद र एमालेले जनताको बहुदलीय जनवाद नछाडेको बताए । उनले भने, ‘अबको वैचारिक संश्लेषण कसरी गर्ने भन्ने हामी छलफलमा छौं ।

’जनसांस्कृतिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब एमाले र माओवादी अलगअलग पार्टी हुनुको कुनै कारण नभएको बताए । ‘हामीले ८/१० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं’ उनले भने, ‘उहाँहरुले पनि त्यही भन्नुभएको छ । समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

जनयुद्धको भूमिका र योगदानबारे एमाले र माओवादीबीच विवाद नभएको उनले भने, ‘एकले अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अघि बढ्छौं । यसमा कसैले शंका गर्नु पर्दैन ।’

एमाले-माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएको र आफ्ना केही सहकर्मीहरुले विरोध गरेको भन्दै उनले त्यसको कुनै औचित्य नभएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार