एमालेद्वारा राष्ट्रियसभाका उम्मेदवारको मापदन्ड तय



 काठमाडौं,२८ पुस/   नेकपा एमाले केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदन्ड र सिफारिसको विधि तय गरेको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यवाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हो ।

आगामी माघ २४ गते हुने सो सभाको निर्वाचनका लागि एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नेछ ।

यस्तै, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ ।

उम्मेदवारी सिफारिसका लागि प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदन्डअनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २८ गते शुक्रबार