
काठमाडौं, २५ पुस/ अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई आज सर्वोच्चमा हाजिर गराइने भएको छ । प्रधान न्यायधिशको राजिनामा माग गर्दै अनसन थालेपछि पक्राउ परेका केसीलाई बिहान ९ बजे सर्वोच्चमा हाजिर गराइने भएको हो ।
सर्वाेच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले अवहेलनाका कारण कारबाही गर्नुपर्ने प्रतिवेदन सर्वाेच्चमा दर्ता गरेलगत्तै केसीलाई आज बिहाज ८ बजे अदालत बुझाउन भनिएको हो । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै पक्राउ गरेर अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विनाजानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको छ । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति जनाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
यस्तै, नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पक्राउ परेका डा.गोविन्द केसीलाई रिहा गर्न माग गर्नुभएको छ । आफु डा.केसीको पक्षमा रहेको र उहाँको अभियानमा आफ्नो समर्थन रहेको डा. भट्टराइले बताउनुभयो ।
यता, डा. केसीको समर्थनमा अहिले केहीबेरमा माइतिघरमा प्रदर्शन हुदैछ । डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा प्रदर्शन हुन लागेको हो । एलायन्सले डा केसीको हरेक अनसनमा साथ दिँदै आएको छ ।
डा केसीलाई गएराती ८ बजे अनसनस्थलबाट नै पक्राउ गरिएको हो । डा केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उहाँले गरेका कामहरु बारे छानबिन गर्न माग गर्नुभएको छ ।
डा केसीले ४ वर्ष अघि बरखास्तमा परेका आइओएमका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि सोको विरोध गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्