अर्थमन्त्रालयद्वारा त्रिविका आंशिक प्राध्यापकको करार नियुक्तिमा रोक



काठमाडौ,२२ पुस/  प्रधानमन्त्री शेरबहादुर देउवाले जबर्जस्ती अगाडि बढाउन निर्देशन दिएको आंशिक प्राध्यापकको करार नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले रोकिदिएको छ ।

तर, अर्थ मन्त्रालयले बजेट उपलब्ध नभएको कारण बताएर नियुक्ति प्रक्रिया रोकिदिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत् मात्र बजेट निकासा दिन सकिने अर्थ मन्त्रालयका अधिकारीहरुको अडान छ ।कूलपति तथा प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि १ हजार ४२० आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए । देउवाले १८ मंसिरमा करार नियुक्ति प्रक्रिया खोल्नेसम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका थिए ।

अर्थले बजेट निकासा नदिएसम्म करार नियुक्तिको प्रक्रिया अगाडि बढ्दैन । ‘प्रधानमन्त्रीले निर्देशन दिएर मात्र हँुदैन । शिक्षा मन्त्रालयको सिफारिसमा अर्थले अनुदान आयोगमार्फत् बजेट निकासा गरी स्पष्ट निर्देशन दिएपछि मात्र प्रक्रिया अगाडि बढ्छ,’ त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले अनलाइनखबरसँग भने, ‘त्यो नहुँदासम्म हामीले मात्र चाहेर केही हुँदैन ।’

राजनीतिक दलहरुको सिफारिसमा आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्दा त्रिविको शैक्षिक गुणस्तरमा र्‍हास आउने बताउँदै चर्को विरोध भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार