याम घिमिरे पुस ०४ / बाघको वास्तविक संख्या पत्ता लगाउने, यसको अवस्थाको बारेमा जानकारी प्राप्त गर्ने, वासस्थान र बाघको आहारा प्रजातीको वारेमा जानकारी प्राप्त गर्न बांके र बर्दिया राष्टिय निकुञ्जमा बाघ गणना भैरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराईले शनिबार औपचारिक रुपमा उद्घाटन गरिएको सो काम निरन्तर चलिरहेको बताइएका छ । आधुनिक क्यामरा ट्यापिङ्ग प्रविधिको प्रयोग गरी बर्दिया निकुञ्जमा पौष १गते देखि शुरु भएको बाघ गणना कार्य सोमवार पनि जारी रहेको निकुञ्जले जनाएको छ । बर्दिया र बाँके निकुञ्ज क्षेत्रलाई तीन वटा ब्लकमा विभाजन गरी १ सय १२ जना प्राविधिक सहितको विशेषज्ञ टोली बाघ गणनाको लागि खटाईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।
गणना कार्यमा आवश्यकता अनुसार हात्ती पनि प्रयोग गरिएको छ । बाघ गणनाका लागि निकुञ्ज भित्र दुइ–दुइ किलोमिटरको दुरीमा १५ दिनसम्म २०० देखि २२० वटा क्यामेरा जडान हुनेछन् । प्राविधिकहरुको टोलीले यसको नियमित अनुगमन र सूचना संकलन गर्ने छन् । गणनाका लागि १० वटा समूह बनाइएको र हरेक समूहमा ८÷८ जना विधिकसहित केही सहयोगी पनि रहेका छन् । बाघ हिडडुल गर्ने सम्भावित स्थानहरु पहिचान गरी क्यामरा जडान गरिने छ । बाघ हिड्ने सम्भावित बाटाको दायाँवाया दुबैतर्फ करिव ६ मिटरको दुरी र करिव ४५ देखि ६० सेन्टीमिटर उचाइमा क्यामरा जडान हुनेछन् । क्यामरा जडान भएको बाटो भएर बाघ हिडेमा उक्त बाघको फोटो क्यामरामा कैद हुनेछ ।
यसैबाट बाघको पहिचान
हुनेछ । क्यामेरा राखेको स्थानबाट कुनै पनि जनावर, मानिस आवतजावत गरेमा पनि ती सबै स्वचालित क्यामेरामा कैद हुने प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, प्राविधिक, निकुञ्ज सुरक्षार्थ नेपाली सेना लगायत चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका दस्ताहरु तोकिएको स्थानमा गई
बाघ अनुगमन गरिरहेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारील बताए । उनले भने,‘बाघ अनुगमन कार्यमा १० वटा समूहमा १ सय १२ जना मानवीय जनशक्तिसँगै दैनिक ५ ओटा हात्ती समेत प्रयोग भएका छन्।’
निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराईले बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरबाट शुभारम्भ गरेको बाघ अनुगमन कार्य ७० दिनसम्म सञ्चालन हुने निकुञ्जले जनाएको छ । ‘बाघ अनुगमनका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई ३ वटा व्लकमा विभाजन गरी ४ सय ८६ वटा ग्रिड कायम गरेका छौं,‘ अधिकृत भण्डारीले भने ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पहिलो व्लक, बर्दियाको केही बाँकी भाग र बाँके निकुञ्जको केही भाग दोस्रो व्लक र बाँके निकुञ्जको बाँकी सबै भागलाई तेस्रो व्लक कायम गरिएको हो ।
अनुगमन कार्यका लागि ६ सय वटा स्वचालित क्यामेरा निकुञ्जले व्यवस्था गरेको छ । जसमध्ये २०० देखि २२० जोडी क्यामेरा प्रयोग हुनेछन् । अन्य क्यामरा बिग्रिएको खण्डमा प्रयोगका लागि जगेडा राखिएको उनले बताए । मार्च ३ सम्म बाघको फोटो लिने कार्य सम्पन्न हुनेछ । बाघ अनुगमन कार्यका लागि नेपाल सरकार लगायत राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत जुलोजिकल सोसाइटी अफ लण्डन र डव्लुडव्लुएफ नेपालको सहयोग र सहकार्य छ । बर्दिया राष्ट्रिय निकुञ्जको ९ सय ६८ वर्गकिलोमिटर र बाँके राष्ट्रिय निकुञ्जको ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा एकैसाथ बाघ गणना तथा अनुगमन गरिने कार्यक्रम छ ।
पहिलो ब्लकमा जडान भएको १५ दिन पछि अर्को ब्लकमा क्यामरा जडान गरिने छ । क्रमशः तीन वटा ब्लकमा पालैपालो क्यामरा जडान हुने बताइएको छ । गणना अवधिभर प्राविधिकसहितको टोली निकुञ्ज भित्रै बस्नेछ । क्यामेराले कैद भएको बाघको फोटोमा बाघको पाटा हेरेर बाघ संख्या यकिन गरिने निकुञ्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्