काठमाडौं, १६ कात्तिक/ घरेलु कामदारका रुपमा नेपाली महिला जोर्डन जान पाउने भएका छन् ।
नेपाल र जोर्डनबिच श्रम सम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् । सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकारलाई बलियो बनाइएको छ । यस्तै सम्झौतामा कामदारको तलव समेत तोकिएको छ । त्यहाँ जाने साधारण कामदारले २५० र घरेलु कामदारले तीन सय डलर मासिक न्युनतम तलब पाउने छन् ।
जोर्डनसँगको सम्झौताले दुई वर्ष पहिले सरकारले गरेको फ्रि भिसा फ्रि टिकटको निर्णय पनि कार्यान्वयनमा आएको छ । कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोर्ने उल्लेख गरिएको छ ।
सरकारले यसअघि घरेलु कामदारका रुपमा विदेश जान महिलालाई रोक लगाएको थियो । जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिनुभयो । जोर्डनबाहेक अन्य देशमा भने तत्कालै घरेलु कामदारका रुपमा नेपाली महिला जान पाउने छैनन् ।
जोर्डनमा झण्डै पाँच हजार नेपाली कार्यरत छन् । तीमध्ये धेरैजसो गार्मेन्ट क्षेत्रमा कार्यरत छन् । गएको कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका डा. अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्