26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

सरकारद्वारा आफू निकट कार्यकर्तालाई राज्यकोषबाट ४ करोड वढि रकम वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

काठमाडौं, १४ कात्तिक/  सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ ।

प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो।

गत ६ कार्तिकमा वसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन् ।

निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको छ ।

रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए ।

आर्थिक सहायता दिने भन्ने निर्णय भएको भएपनि आफ्नो महाशाखामा त्यसको जानकारी आउन वाकी नै रहेको प्रवक्ता दुवाडीले बताए ।

मन्त्रालय अन्तर्गत रहेको सहजीकरण शाखाले आर्थिक सहायता सम्वन्धि प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

आर्थिक सहायता दिने सम्वन्धि प्रस्ताव हामीले पठाएका थियौ निर्णय भएर आएको छ।’ मन्त्रालयका सहजीकरण शाखाका एक अधिकारीले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि आर्थिक सहायता वितरण सम्वन्धमा गरिएको निर्णय सोमवार प्रधानमन्त्री कार्यालय वाट गृह मन्त्रालयमा पठाइएको जानकारी दिएको छ ।

रकम पाउनेमा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरा, उपप्रधानमन्त्री गोपाल मान श्रेष्ठको गृह जिल्ला स्याङ्जा, वझाङ, कञचनपुर, कैलाली, जुम्लाका अत्याधिक छन् ।

आर्थिक सहायता पाउनेमा चार दर्जन भन्दा वढि त प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराकै रहेका छन्। यसैगरि आर्थिक सहायता पाउनेमा कञ्चनपुर, कैलाली र स्याङ्जाका पनि अत्याधिक संख्यामा रहेका छन् । –अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     8:03:07 AM  |