काठमाडौं, ८ कार्तिक/  प्रमुख राजनीतिक दलहरु निर्वाचन घोषणापत्र तयार पार्न आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिए पनि घोषणापत्रलाई अन्तिम रुप दिन नसकेका दलहरु घोषणापत्र तयार पार्न व्यस्त भएका हुन् ।

नेपाली कांग्रेसले घोषणापत्रको मस्यौदालाई पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेतासँग छलफल गरी स्वीकृत गरेको जनाएको छ । मस्यौदामा थप छलफल गरी दुई–तीन दिनभित्रै पार्टीले घोषणापत्र सार्वजनिक कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनमा दलहरूसँग तालमेल गरिए पनि कांग्रेसको एकल घोषणापत्र हुनेछ । निर्वाचन प्रसारप्रसार भने संयुक्त रूपमा गर्ने गरी कार्यक्रम तय गरिने नेता थापाले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट गरेपछि औपचारिक रूपमा निर्वाचन प्रसारप्रसार सुरु हुने कांग्रेसले जनाएको छ ।

यसैबीच, एमाले–माओवादीले कात्तिक १० मा संयुक्त घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् । दोस्रो चरण अर्थात् मंसिर २१ को निर्वाचनका लागि उम्मेदवार छनोट कार्य भइरहेको र घोषणापत्र सार्वजनिक भएपछि औपचारिक रूपमा चुनावी अभियान सुरु हुने एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संयुक्त रूपमा जिल्ला–जिल्लामा चुनावी कार्यक्रम गरिनेछ । पार्टी अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहाल भने संयुक्त रूपमा चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको प्रमुख ज्ञवालीले बताउनुभयो ।

यस्तै राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति राष्ट्रिय जनता पार्टीलगायतले पनि छलफल जारी राखेका छन् ।