19 September 2021  |   आइतवार, अशोज ३, २०७८

चुनावसम्बन्धी सत्यतथ्य समाचार सम्प्रेषण गर्न आयुक्त शर्माको आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

काठमाडौं, कात्तिक ७ – निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले चुनावनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्मममा चुनाव विषयमा कार्यरत सञ्चारकर्मीका लागि सञ्चालित ‘निर्वाचन र सञ्चार’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उहाँले नेपालमा व्यावसायिक पत्रकारिताको विकास भइरहेको हुँदा चुनावको संवेदनशीलताबारे पत्रकारलाई पर्याप्त ज्ञान रहेको महसुस आयोगले गरेको बताउनुभयो ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनाव स्वच्छ, स्वतन्त्र र मर्यादित तरिकाले सम्पन्न गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले आयोगले विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

यस अवसरमा आयुक्त नरेन्द्र दाहालले जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण हुन आवश्यक रहेको बताउनुभयो ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले जिम्मेवारीबोधका साथ सत्य र तथ्यमा आधारित निर्वाचनमैत्री सूचना निष्पक्ष रूपमा सम्पेषण गर्न सहभागी पत्रकारलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी निर्वाचनलाई पनि सहज तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निरन्तररुपमा सूचना सम्प्रेषण गरी राजनीतिक दललाई सजग गराउन र मतदातालाई सुसूचित गर्न आवश्यक छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वस्थ र मर्यादित ढंगले निर्वाचनसम्बन्धी सूचना संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तयार रहेको
बताउनुभयो ।

आयोगका प्रवक्ता नवराज ढकालले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पार्नुभएको उक्त प्रशिक्षणमा चुनाव विषयमा कार्यरत पत्रकारमध्ये ६० जना पत्रकारको सहभागिता छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     4:17:38 PM  |