काठमाण्डौ असोज ६ /  नेपाल सरकारको मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई मुख्य सचिव नियुक्त गरेको हो । रेग्मी यसअघि गृह सचिव थिए ।
त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
हेरफेर गरिएको जिम्मेवारीअनुसार मोहन सापकोटा गृह सचिव भएका छन् । त्यस्तै महेन्द्र उपाध्यायलाई लोकसेवा आयोगमा तानिएको छ भने शंकर अधिकारीलाई अर्थमन्त्रालय दिइएको छ । प्रकाश माथेमालाई पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ भने विश्वओम वादे सहसचिवबाट सचिवमा बढुवा भएका छन् ।

त्यस्तै आजकै बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र अर्थसचिव शान्तराज सुवेदीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
पुनर्निर्माण प्राधिकरणमा युवराज भुषाल
गोविन्द पोखरेलले राजीनामा दिएपछि रिक्त भएको पुनर्निर्माण प्राधिकरणको सीईओमा युवराज भुषाल नियुक्त भएका छन् । यसअघि दोस्रो पटक सीईओ नियुक्त भएका पोखरेल प्युठानबाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उमेदवार सिफारिस भएपछि राजीनामा दिएका हुन् ।