19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

लालसलाम गर्दै पूर्वडीआईजीले भने-आजबाट म एमालेको सिपाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

लेनिनको उक्तिबाट एमाले पंक्तिको मन जित्दै चुनाव लड्ने संकेत

२० असोज, काठमाडौं । करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद भने । फेरि के सम्भिmए कुन्नि, माइक समातेर हात उठाउँदै भने-लाल सलाम ।

पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका पूर्वडीआईजी सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले ।
उनले सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो ।

ममाथि राजनीति भयो, त्यसैले राजनीतिमा आएँ

पार्टी प्रवेशपछि बोल्ने समय पाएका सिलवालको भाषण कस्तो होला भन्ने सबैको कौतुहलता थियो । धेरैलाई आश्चर्यमा पार्दै पूर्वप्रहरी अफिसर सिलवालले विश्व कम्युनिस्ट आन्दोलनका नेता रुसी क्रान्तिका नायक भी आई लेनिनको उद्दरणबाट आफ्नो भाषण शुरु गरे ।

लेनिनको उक्तिलाई अंग्रेजीमा सुनाउँदै उनले भने, ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एक दिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्नेछ भनेर महान लेनिनले भन्नुभएको थियो । वास्तवमा म राजनीतिबाट पीडित भएको सिपाही हुँ । मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो । त्यसको लागि उपयुक्त ठाउँ एमाले बाहेक अरु देखिँन ।’

हिजोसम्म राज्यको फौजी संगठनका एक सिपाही सिलवालले लेनिनको उक्तिबाट भाषण शुरु गर्नासाथ एमाले कार्यकर्ताहरुले गडगडाहट ताली बजाए । त्यसपछि उनले भने, ‘म हिजोसम्म राज्यको बफादार सिपाही थिएँ, आजबाट एमालेको इमान्दार सिपाही भएँ । यो देशको सेवा गर्ने उत्साह अझ बढेको छ ।’

सामाजिक सञ्जालहरुमा आफ्नो एमाले प्रवेशबारे बिभिन्न प्रतिक्रिया पाइरहेको भन्दै उनले सोही भाषणमार्फत सबैलाई एकमुष्ठ जवाफ दिन चाहेको बताए । उनले भने, ‘ममाथि अन्याय भयो । मेरो अस्थित्वमाथि प्रहार भयो । न्याय र अस्थित्व जोगाउन एमाले प्रवेश गरेको हुँ, एमाले बाहेक अन्य पार्टीबाट न्याय र नागरिकको अस्थित्व जोगाउन सम्भव छैन ।’

देउवा लोकतन्त्रको खोल ओढेका अलोकतान्त्रिक ?

आईजीपी नियुक्ति प्रकरणमा तत्कालिन कांग्रेस सभापति शेरवहादुर देउवाको कोपभाजनमा परेको गुनासो गर्दै आएका सिलवालले भाषणमा देउवाको नाम त लिएनन् । तर, संकेत गर्दै भने, ‘केही व्यक्ति र राजनीतिक पार्टी आफूलाई लोकतन्त्रको मसिहा त भन्छन् । तर, उनीहरु लोकतन्त्रको खोल ओढेका अलोकतान्त्रिक अनुहार रहेछन् ।’

एमाले नै किन प्रवेश गरेको भनेर धेरैले प्रश्न गरेको भन्दै उनले एमाले बाहेक अरु दलबाट अब नेपालको सम्बृद्धि सम्भव नरहेको दाबी गरे । उनले एमालेले समाजवादको वैज्ञानिक ब्याख्या गरेको र सामाजिक न्यायको सन्दर्भमा एमालेको जस्तो नीति अरु दलको नरहेको तर्क गरे ।

बाम गठबन्धन ऐतिहासिक, ओली र प्रचण्ड युगपुरुष

प्रचण्ड प्रधानमन्त्री भएका बेला आईजीपी बन्नबाट बन्चित रहे पनि सिलवालले पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रप्रति कुनै टिप्पणी गरेनन् । बरु उनले हालै भएको एमाले माओवादी एकता प्रक्रियालाई इतिहासकै ठूलो घटना भन्दै यहि बेला एमाले प्रवेश गर्न पाएकोमा गर्व गर्ने बताए ।

उनले भने, ‘संयोगबस म यहि प्रक्रियाको हिस्सा बन्न पाउँदा खुसी छु । यो ऐतिहासिक घटना हो । यो प्रक्रियाका नायक दुवै पार्टीका अध्यक्षहरु युग पुरुषका रुपमा भविष्यमा रहनुहुनेछ । अर्काथरीले पनि गठबन्धन गर्ने भन्न थालेका छन्, त्यो हुन्छ भने पनि ठीकै छ ।’

सिलवाल उम्मेदवार बन्लान् ?

सर्वोच्चबाट मुद्दा हारेसँगै डीआईजी पदबाट दिएको राजीनामा औपचारिक रुपमा स्वीकृत नहुँदै एमाले प्रवेश गरेका सिलवाल आसन्न निर्वाचनमा उम्मेदवार बन्लान् ? यो प्रश्नको जवाफ अझै दुवै पक्षले दिएका छैनन् ।
तर, सिलवालले पार्टी प्रवेश गर्दै आफू मुलुकप्रतिको जिम्मेवारी पूरा गर्न अझ उत्साहित रहेको र पार्टीले उपयुक्त जिम्मेवारी दिनेमा विश्वस्त रहेको बताए ।

पटकपटक ओलीलाई युगपुरुष शब्दबाट सम्बोधन गरेका सिलवालले एमालेका कार्यकर्ताको लोभलोग्दो पंक्ति र अनुशासित संगठनले आफूलाई प्रभावित पारेको बताए । उनले पाएको जिम्मेवारी पार्टीको अनुशासित सिपाहीका रुपमा पूरा गर्ने बताए ।

सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा वा प्रदेशसभाको उम्मेदवार बन्ने चर्चा एमाले वृत्तमा चलिसकेको छ । ओलीले आईजीपी प्रकरणपछि निरन्तर सिलवालको बचाऊमात्र गरेका छैनन्, उनी विरुद्ध सरकारले किर्ते गरेको आरोप समेत लगाउँदै आएका छन् । सम्भवतः उनले सिलवाललाई चुनाव लडाएर देउवालाई देखाउन खोजेका छन् ।

ओलीले भने-अहिले केही नभनौं, हेर्दै जाउँ

एमाले सुपि्रमो ओलीले समारोहमा नै सिलवाललाई महत्वपूर्ण जिम्मेवारी दिने संकेत दिए । उनले सिलवालमाथि अन्याय गर्नेलाई देखाउने ढंगले हेर्दै जाउँ भने ।

ओलीले भने, ‘नवराज सिलवालको व्यक्तित्वका धेरै पाटा छन् । उहाँ भइसकेको तर, हुन नदिइएको आईजीपी, बन्न नदिइएको एआईजी र रोकेर राखिएको डीआइजी पनि हो । अहिले केही भनौं हेर्दै जाऊँ ।’

सिलवालमाथि अन्याय भएकाले न्याय दिइने उनले बताए । एउटा र्डआईजीले न्याय नपाउने र घुस खान्न भन्ने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बेथितिपूर्ण अवस्थाबाट मुलुकलाई मुक्त गर्न सबै पीडितहरु एमालेमा गोलबद्ध भएको उनले बताए ।
उनले कसैको नाम त लिएनन् तर, सिलवालको नम्बर किर्ते गर्नेदेखि सुशीला कार्कीलाई महाअभियोग लगाउनेसम्मका हर्कत महिशासुसर प्रवृति भएको टिप्पणी गरे । by onlinkhabar

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     5:39:00 PM  |