18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

दशैंमा आमासँगै बसेर पढ्न मन लाग्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४  

Nepal Live

 

दशैंलाई म रीतिरिवाजको रुपमा पछ्याइरहेको हुन्नँ । बरु, देवी-देवतालाई कलात्मक रुपले पढिरहेको हुन्छु ।

यसपटक आमाले भन्नुभयो– यसपालि देवी दुर्गा नौका (डुंगा) मा आउँछिन् रे ! हरेक पटक देवी माइत आउँदा फरकफरक चिजमा चढेर आउँछिन् । नौकामा आउँदा चाहिँ पानी धेरै आउँछ । त्यसले गर्दा बाढी आउँछ।

मलाई लाग्यो, त्यो राम्रो कथा हो । अनि त्यसबारे कसरी जानौं भइरहेको छ।

त्यसैले दशैंमा पूजा इत्यादिभन्दा पनि देवी नौकामा आउँदा केके हुन्छ, त्यसबारे केके डकुमेन्ट छन्, त्यतातिर मलाई बढी रुचि छ । अर्थात्, न्यारेटिभ्स, आर्ट र फिलोसफीतिर बढी रुचि छ।

म धर्ममा विश्वास गर्छु, तर धर्मलाई आर्ट र फिलोसफीको रुपमा हेर्छु । रीतिरिवाज चाहिँ आवश्यक छ जस्तो लाग्छ । यसले मानिसलाई ‘हिलिङ’ गर्छ।

घटस्थापनामा मैले देवी दुर्गाको स्तुति र आगमनी गीत खुब सुनेँ । दिन नै गीत सुनेर बित्यो । श्लोकहरुमा दुर्गालाई कुन रुपमा प्रस्तुत गरिएको छ, त्यसमै भुलेँ । दशैं मात्र होइन, होली, शिव रात्री र सरस्वती पूजामा पनि रमाइलो मान्छु । तर, तुरुन्तै साहित्य र फिलोसफीतिर केन्द्रित भइहाल्छु।

म हिन्दू हुँ । तर, अन्य धर्मका पर्वहरुमा पनि रुचि राख्छु । त्यतिबेला त्यससँग सम्बन्धित साहित्य र दर्शन पढ्ने मौका हुन्छ । खासमा जुनबेला जे घटना भइरहेको हुन्छ, त्यतिबेला त्यही विषयमा पढ्न मन लाग्छ । जस्तो कि, क्रिसमस डे को दिन चर्च हिम्स बढी सुन्छु। यस्तो गर्दा त्यही पर्व मनाइरहेको जस्तो लाग्छ।

म दशैंमा घर जाँदा भान्सामा आमासँगै बसेर पढ्न रुचि लाग्छ । गाउँतिर जाँदा दुई–तीन वटा किताब लैजान्छु, अनि त्यहाँ बसेर कुरा गर्छु । अघिल्लो वर्ष मैले त्यहाँ सेक्सपियरलाई पढेँ । त्यहाँ बसेर पढ्दा ‘एनसेन्ट फिलिङ’ आउँछ । बाल्यकालमा आमाले पढ्न खुब कर गर्नुहुन्थ्यो । अहिले आमाकै छेउमा गएर पढ्दा खुब आनन्द आउँछ।

साँझ–बिहान गाउँतिर डुल्न जान्छु, मण्डपतिर घुम्छु।

                              (किशोर दहालसँगको कुराकानीमा आधारित)                                                                     copy nepal live

प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४     12:29:42 PM  |