21 June 2021  |   सोमवार, असार ७, २०७८

बाख्रापालन ः नगद धन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३  

केशव राना
कोहलपुर, असार १४
महादेवपुरी ३, खैरीकी भुलिया थारुले बाख्रापालन गर्न थालेको ९ वर्ष भयो । बाख्रापालनबाटै उनले मनग्य आम्दानी गर्न थालेकी छन् । उनीसँग अहिले १४ वटा बाख्रा रहेका छन् । शुरुका वर्षहरुमा ३ वटा बाख्रा पालेकी उनले विगत ३ वर्षदेखि व्यवसायीक रुपमा बाख्रापालन थालेकी हुन् । ‘बाख्रापालनबाट आम्दानी राम्रो भएको छ’ उनले भनिन् ‘छोराछोरीहरुलाई पढाउन र घरखर्च धान्न कुनै समस्या छैन ।’ बाख्रापालन नगद धन भएकाले पनि सहज भएको उनको अनुभव छ । उनीमात्रै होइन खैरीकै बुद्धि खत्रीले पनि बाख्रापालनबाट राम्रो आम्दानी लिन सफल भएकी छन् । उनले बाख्रापालनबाट भएको आम्दानीले ५ कठ्ठा जग्गा समेत किनेकी छन् । गतवर्ष ४२ वटा बाख्रा बेचेको बताउँदै उनले भनिन् ‘केहीदिन अघि मात्रै १० वटा बाख्रा बेचेँ ।’ सुधारिएको खोर
महादेवपुरी ३ मा बाख्रापालन फस्टाएको छ । सबैले बाख्राका लागि सुधारिएको खोर बनाएका छन् । मान्छेलाई जस्तै बाख्रालाई पनि सफा खोर चाहिन्छ भन्ने भान बाख्रापालक कृषकहरुलाई ज्ञान थिएन । अहिले उनीहरु बाख्राको खोर सुधारेका छन् । दैनिक सफा समेत गर्ने गरेका छन् । ‘पहिले एकदमै फोहोरमा बाख्रा पालिन्थ्यो’ खैरीकै दीपा वलीले भनिन् ‘अहिले सुधारिएको खोर बनाएका छौं, दैनिक सफा गछौं ।’ घरमै घाँस
यहाँका बाख्रापालक कृषकहरुले बाख्राका लागि घरमै घाँस रोपेका छन् । उनीहरुले घरका छेउमा भटमासे, किम्बु, मेन्दुला, बकाईने, इन्दु, शितलचिनी, नेपिएर जस्ता डाले तथा भुइघाँसहरु रोपेका छन् ।
निकुञ्ज स्थापना भएसँगै घरपालुवा जनावर जंगलमा लैजान नमिल्ने भएपछि घरमै घाँस रोप्न थालेका हुन् । घरमै डाले तथा भुइघाँसहरु रोप्न थालेपछि घाँसको चिन्ता छैन उनीहरुलाई । ‘घरकै आँगन तथा घरकै अगाडि घाँसहरु रोपेका छौं’ दिपाले भनिन् ‘घाँसको समस्या हल भएको छ ।’आम्दानी बढ्दै
त्यहाँका कृषकहरुले सगरमाथा मूल समूह गठन गरेर बाख्रापालन कृषकहरुको संख्या पनि बढाउँदै लगिएको छ । हाल २५ जना सदस्य रहेका छन् । बाख्रापालन, कुखुरापालन, तरकारी, अन्नबाली, गाई, भैसी पालन लगायत गरी पहिले प्रति परिवार १ लाख १८ हजार ७ सय ३० रुपैंया वार्षिक आम्दानी हुने गरेकोमा अहिले त्यो बढेर २ लाख २२ हजार ३ सय ४० रुपैंया पुगेको समूहले जनाएको छ । बाख्राबाट मात्रै १ लाख ९९ हजार ३० रुपैंया आम्दानी गर्ने गरेको समूहको भनाई छ । समूहमा कृषकहरुले बचत पनि गर्ने गरेका छन् । प्रति सदस्य मासिक २० रुपैंयाबाट बचत शुरु गरेका उनीहरुले अहिले १०० रुपैंया बचत गर्ने गर्छन् । उनीहरुको आयआर्जनमा टेवा पु¥याउन महादेवपुरी गाविस र हेफर संस्थाले सहयोग गरेका छन् । बजारीकरणमा चुनौती
कृषकहरुको आयस्तरमा वृद्धि भएपनि कृषकहरुलाई बजारीकरणको व्यवस्थापन गर्न भने जरुरी देखिन्छ । कृषकहरुले बजारिकरणको राम्रो व्यवस्थापन नभएको गुनासो गरेका छन् । बाख्रापालक किसानका लागि मुख्य चुनौतीको रुपमा बजारिकरण रहेको छ ।
भारतबाट खसीबोकाहरु निर्यात हुने भएकाले यहाँका खसीबोकाहरुले बजार पाउन नसकेका हुन् । भारतबाट आउने बाख्राहरु सस्तो हुने र मासुहरु पनि धेरै हुने भएकाले बजार सोचेजति पाउन नसकेको हो ।
यता भारतीय खसीबोकाहरुलाई प्रतिस्थापन गर्ने तर्फ आफूहरु लागिपरेको हेफर इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका सहायक निर्देशक दुर्गा केसीले बताए । खसीबोका बजारीकरणको कार्यलाई दीगो बनाउन महादेवपुरी ५, ढकेरीमा १० कठ्ठा जग्गा खरिद गरी संकलन केन्द्रको निर्माणको शुरुवात गरिएको उनले बताए । हेफरले महादेवपुरी र कचनापुरमा साना किसान उद्यमी सुदृढिकरण परियोजना सन् २०१३ देखि लागू गरेको हो । सो परियोजनाको कार्यान्वयन साझेदार संस्था महिला उपकार मञ्च रहेको छ । उन्नत पशु व्यवस्थापन प्रविधि अवलम्बन गरी बाख्राको उत्पादकत्वमा ५० प्रतिशतले वृद्धि गर्ने, कृषि तथा पशु उत्पादनको बजारीकरणका मार्फत परिवारको आम्दानी, पोष अवस्था तथा खाद्य सुरक्षालाई दीगो बनाउने लगायतका उद्देश्य राख्दै परियोजना लागू गरिएको सहायक निर्देशक केसीले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३     8:45:53 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *