20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

रक्सौल नाकामा झडप हुँदा ३ जना घाइते, स्थिती तनावग्रस्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २२, २०७२  

वीरगन्ज, २२ पुस ।  वीरगञ्ज रक्सौल नाकाको मितेरीपुलमा झडप हुँदा तीन जना घाइते भएका छन् । भारतबाट समान ल्याउने व्यापारी र नाकामा धर्ना बसेका आन्दोलनकारीबीच झडप हुँदा ३ जना घाइते भएको संघिय समावेशी मधेसी गठबन्धनका नेता राजकुमार यादवले बताए ।
झडपमा परि स्थानीय चुनी मिश्रा, असरफ अन्सारी र साहवुदिन अन्सारी घाइते भएका हुन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले गत असोज सात गते देखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेर नाका ठप्प पार्दै आएपनि पटक पटक झडप हुने गरेको छ । साउन ३० गतेदेखि गर्दै आएको अनिश्तिकालिन बन्द हड्ताललाई थप सशक्त बनाएका मधेसी दलहरुले असोज ७ गतेदेखि नेपालसँग सीमा जोडिएका भारतीय सीमा नाका बन्द गर्ने कार्यक्रम अगाडी सारेर नाकामा धर्ना दिँदै आएका हुन् ।
नाकाबन्दी गर्ने कार्यक्रम अन्तर्गत वीरगन्ज रक्सौलको मितेरी पुलमा पनि मधेसी दलका नेता कार्यकर्ताहरुले गत असोज ७ गते देखि नै धर्नामा बसेर नाका ठप्प पार्दै आएका छन् ।
आन्दोलनकारीहरुले मितेरी पुलमा दिन रात २४ सै घण्टा धर्ना बसेर नाका ठप्प पारेका कारण साढे तीन महिना भन्दा बढी समय देखि रक्सौलबाट कुनैपनि मालवाहक सवारीसाधनहरु वीरगन्ज प्रवेश गर्न सकेको छैन । संघिय समावेशी गठबन्धनले बन्द सशक्त बनाउने भनेको चौथो दिन आजपनि बजार पूर्ण रुपमा ठप्प छ । बन्दकर्ताहरुले आज अन्यदिनको भन्दा बन्दमा कडाई गरेको बताईएको छ ।

प्रकाशित मितिः बुधबार, पुस २२, २०७२     1:43:30 PM  |