
दाङ २२ पुस : दाङमा माइक्रोबस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडक खण्डको सौडीकुलामा बुधबार बिहान स्कुल बस र माइक्रोबस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा माइक्रो चालक मानपुर–७ बनकट्टीका २३ वर्षीय धनवहादुर थापा, त्रिपुर नगरपालिका–१ नारायणपुरका ३६ वर्षीय सबनम अन्सारी, सल्यान काभ्राका साढे दुई वर्षका बालक हेमन्त विष्ट रहेको एसपी कडायतले जानकारी दिए । मृतक दुई जना महिला रहेका तर उनीहरुको सनाखत हुन नसकेको एसपी कडायतले जनाए ।
पद्मोदय पब्लिक नमुना उच्च माविको रा १ क १९१ नं. को बस विद्यार्थी लिन नारायणपुरतर्फ आउदै गर्दा अवस्थामा विपरित दिशाबाट आइरहेको रा १ ज ३७२ नं. माइक्रोबस ठोक्किदा माइक्रोमा सवार ५ जनाको मृत्यु भएको प्रहरी निरीक्षक प्रदिप बस्यालले जानकारी दिए ।
बस्यालका अनुसार माइक्रो बसको ड्राइभर सहित २९ जना घाइते भएका छन् । जसमध्ये १२ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको राप्ती उपक्षेत्रीय अस्पताल दाङमा उपचार भइरहेको छ । हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीले अनुमान गरेको छ ।