नेपालगञ्ज, पुस १९ – नेपालगञ्ज बसपार्कलाई अत्याधुनिक रुपमा निर्माण सुरु गर्न लागिएको छ । करिब २० करोड रुपैयाँको लागतमा आधुनिक बसपार्क निर्माण सुरु गर्न लागिएको नेपालगञ्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद भुषालले जानकारी दिनुभयो ।
बसपार्क निर्माणका लागि टेण्डर भई सम्झौता हुने क्रममा छ । सपिङ्ग कम्प्लेक्स सहितको अत्याधुनिक बसपार्क निर्माण गरिनेछ । नेपालगञ्ज उप–महानगरपालिकाका योजना शाखा प्रमुख श्यामकाजी पियाका अनुसार अत्याधुनिक बसपार्क निर्माणका लागि करिब २० करोड रुपैयाँको लागत स्टिमेटमा ठेक्का आह्वान गरिएको हो ।
ठेक्का आह्वानपछि ६ वटा कम्पनीले आवेदन पेश गरेका छन् । लागत स्टिमेट २० करोड रुपैयाँको भएपनि त्यो भन्दा कम रकममा ठेक्का सम्झौता हुने उप–महानगरपालिकाको अनुमान छ । गणेशपुरमा रहेको हालको बसपार्कलाई अत्याधुनिक बनाइने नेपालगन्ज नगरपालिकाले जनाएको छ ।
उप–महानगरपालिकाका योजना प्रमुख पियाका अनुसार नगर विकास कोषबाट ऋण सहयोग लिएर अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको हो । अत्याधुनिक बसपार्क निर्माणको तयारीमा रहेको उप–महानगरपालिकाले बसपार्क व्यवस्थित बनाउने योजना समेत अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्