18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

नेवि संघ पूर्वअध्यक्षहरूको समर्थन कोइराला कि देउवालाई ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १९, २०७२  

काठमाडौं– नेपाली कांग्रेसको सशक्त र नर्सरी भ्रातृसंस्था हो, नेपाल विद्यार्थी (नेवि) संघ । अहिले कांग्रेसको नेतृत्व तहमा पुगेका अधिकांश नेता नेवि संघका प्रोडक्ट छन् । विद्यालय तहबाट नै राजनीति सुरु गर्ने र कांग्रेसमा प्रवेश गर्दै केन्द्रसम्म पुग्दा चिनजान धेरै हुने भएकाले पनि अन्य कांग्रेसबाट सीधै राजनीति सुरु गर्नेभन्दा उनीहरूको पकड बढी भएको देखिन्छ ।
पञ्चायती शासनविरुद्ध राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकताको नीति लिएर मुलुकमा प्रजातन्त्र ल्याउन भन्दै ६ वैशाख ०२७ मा कांग्रेसको भ्रातृ विद्यार्थी संस्थाको रूपमा स्थापित नेवि संघबाट राजनीति सुरु गर्नेहरूको नै कांग्रेसमा अहिले बोलबाला छ । केही नेताबाहेक अधिकांश नेवि संघबाट राजनीति गर्नेहरू कांग्रेसको अहिलेको केन्द्रीय समितिमा छन् ।
नेविसंघको १७औँ अध्यक्ष हुन्, हालका महाधिवेशन आयोजक समितिका संयोजक रञ्जित कर्ण । अर्थात् यसअघि १६ जनाले नेवि संघको नेतृत्व गरिसकेका छन् । नेविसंघको नेतृत्व गर्दै कांग्रेसको राजनीतिमा होमिएकाले कांग्रेसमा विगतका महाधिवेशनमा पनि प्रभाव पार्दै आएका छन् । सामिप्यमा आएको १३औँ महाधिवेशनमा पनि उनीहरूको लगावले प्रभाव पार्ने देखिन्छ ।
विशेषतः १३औँ महाधिवेशनबाट आफूले कांग्रेसको नेतृत्व पाउनुपर्ने भन्दै तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । अर्का एकजनाले कन्डिसनल उम्मेदवारी दिने जनाउ गरेका छन् । अहिलेका तीन शीर्ष नेताहरू सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारी घोषणा गर्दै प्रचार–प्रसारमा लागेका छन् । त्यस्तै, महामन्त्री कृष्ण सिटौलाले आफूलाई पदाधिकारीमा उपयुक्त स्थान नदिएमा सभापतिमा उम्मेदवारी दिने धम्की दिँदै पदको बार्गेनिङ गरिरहेका छन् ।
तीमध्ये शेरबहादुर देउवा नेवि संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । उनी नेवि संघको दोस्रो अध्यक्ष बनेका थिए । अन्य सभापतिका उम्मेदवारभन्दा उनै देउवातिर नेवि संघ हाक्नेहरू देखिएका छन् ।

Camp-1

को–को पूर्वअध्यक्ष छन् देउवातिर ?
अहिलेसम्म नेवि संघको नेतृत्व गरेका १७ मध्ये देउवा गुटमा नौजना देखिएका छन् । नौमध्ये एक देउवा आफैँ हुन् भने आठजनाले उनलाई साथ दिनका लागि मतैक्यता जनाएका छन् । उनको पक्षमा देखिनेमा नेवि संघका संस्थापक अध्यक्ष विपिन कोइराला, तेस्रो अध्यक्ष विमलेन्द्र निधि, चौथो ज्ञानेन्द्रबहादुर कार्की, छैटौँ बालकृष्ण खाँण, सातौँ एनपी साउद, आठौँ धनराज गुरुङ, १०औँ विश्वप्रकाश शर्मा, ११औँ किशोरसिंह राठौर देउवा पक्षमा छन् ।

सुशीलको पक्षमा आठ
कोइरालाको पक्षमा पाँचौं अध्यक्ष बलबहादुर केसी, नवौँ गोविन्द भट्टराई, १२औँ गुरुराज घिमिरे, १३औँ केशव सिंह, १४औँ महेन्द्र शर्मा, १५औँ प्रदीप पौडेल, १६औँ कल्याण गुरुङ र बहालमा रहेका नेवि संघ अध्यक्ष रञ्जित कर्ण छन् ।

नेवि संघका निर्वाचित देउवाकोमा मनोनित संस्थापनमा

नेवि संघको अब १२औँ महाधिवेशन हुने हो । तर, १७ अध्यक्ष बनिसकेका छन् । निर्वाचित अध्यक्षले महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले विघटन गरेर अर्कैको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रचलन कांग्रेसमा देखिन्छ । र, महाधिवेशन आयोजक समितिको संयोजकलाई पनि पूर्वअध्यक्ष भन्ने प्रचलन छ । पाँच मनोनितमध्ये दुई देउवा पक्षमा छन् भने तीन संस्थापन पक्षमा छन् । देउवातिर ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ र संस्थापनमा केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्ण छन् । कल्याण गुरुङलाई पनि कांग्रेस प्रजातान्त्रिक रहेका बेला नेता देउवाले मनोनित गरेका थिए । उनी अहिले संस्थापनतिर छन् ।

जितेका देउवातिर, तानेका संस्थापनतिर
नेवि संघका १६ पूर्वअध्यक्षमध्ये १४ जना कांग्रेस केन्द्रीय समितिमा छन् । नेवि संघका संस्थापक अध्यक्ष विपिन कोइराला र १०औँ अध्यक्ष विश्वप्रकाश शर्माबाहेक अन्य सबै अहिलेको केन्द्रीय समितिमा अटाएका छन् । १४ मध्ये ६ जना केन्द्रीय समितिमा निर्वाचित भएर पुगेका हुन् । निर्वाचितमध्ये बलबहादुर केसी मात्रै संस्थापनमा छन् । पाँच अध्यक्ष देउवा पक्षमा छन् । देउवा पक्षमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ र किशोरसिंह राठौर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सभापतिमा पराजित नेता देउवा र महामन्त्रीमा पराजित निधिलाई सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । धनराज गुरुङ खुलेर नबोले पनि देउवा पक्षका आन्तरिक बैठकमा सहभागी हुने गरेको स्रोत बताउँछ ।
संस्थापनमा रहेका नेवि संघको नेतृत्व हाँकेकाहरू प्रायः केन्द्रीय समितिमा पराजित भएर पछि सभापति कोइरालाले तानेर केन्द्रीय सदस्य बनाएकाहरू छन् । तानेर केन्द्रीय सदस्य बनाइएकामा गोविन्द भट्टराई, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल र कल्याण गुरुङ छन् । तीमध्ये सिंह त डडेल्धुराबाट बुथ समितिमा नै पराजित भएर थन्किएर बसेका थिए । उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

संस्थापनका देउवातिर, देउवाका संस्थापनतिर

अहिलेको महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षका नेता देउवातिर र देउवा पक्षका संस्थापनतिर गुट परिवर्तन गर्ने क्रम बढेको छ । १२औँ महाधिवेशनसम्म संस्थापनमा खुलेर लागेका धनराज गुरुङ र विश्वप्रकाश शर्मा अहिले देउवाको पक्षमा लागेका छन् । शर्मा महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापनमा बसेर टिकिखान नदिएपछि देउवाको पक्षमा जान बाध्य भएको स्रोत बताउँछ । १२औँ महाधिवेशनअघि झापा कांग्रेस सभापतिमा उम्मेदवार बनेका शर्मालाई महामन्त्री सिटौलाले रणनीति बनाएर पराजित गरेका थिए । त्यस्तै, संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलाकै कारण संस्थापनबाट सभासदको उम्मेदवारका लागि टिकट नपाएपछि उनलाई नेता देउवाले कोटाबाट टिकट दिलाएका थिए । तर, सिटौला लागेर पराजित गरेपछि बाध्य भएर उनी देउवा पक्षमा गएका हुन् । देउवाले पार्टी फोडेर कांग्रेस प्रजातान्त्रिक बनाएका बेला नेविसंघको अध्यक्ष बनेका कल्याण गुरुङ अहिले संस्थापन बनेका छन् । संस्थापन बन्ने प्रतिबद्धता जनाएपछि उनलाई सभापति सुशील कोइरालाले पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बनाएका छन् । त्यस्तै, पा“चौँ अध्यक्ष बलबहादुर केसी पनि देउवाले कांग्रेस फोड्दा उनीसँगै गएका थिए तर, १२औँ महाधिवेशनमा उनी संस्थापन फर्किएका हुन् ।

प्रकाशित मितिः आइतवार, पुस १९, २०७२     11:09:43 AM  |