कोहलपुर, पौष १४
राष्ट्रिय सरसफाई अभियानको टोली सोमबार कोहलपुर आइपुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट शुरु गरेको राष्ट्रिय सरसफाई अभियानको पश्चिमतर्फको टोली कोहलपुर आइपुगेको हो ।
अभियान अन्तरगत सोमबारबाट कोहलपुरमा सरसफाई अभियानको शुरुवात गरिएको छ । कोहलपुर नगरपालिकाको पूर्वमा रोहिणीखोला, पश्चिममा मदनचौक, उत्तरमा कौशिलानगर तथा दक्षिणमा पिपिरीबाट बाजागाजा सहितको सरसफाई ¥याली निकालिएको थियो । विभिन्न टोल बस्तीहरुबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, विद्यार्थी, स्वास्थ्यकर्मीहरुले हातमा कुचो, बाल्टी बोकेर सरसफाईमा जुटेका थिए । हामी सबैको चाहना सफा, सुन्दर र हरित कोहलपुरको कामना भन्ने मुल नाराका साथ निकालिएको वृहत सरसफाई अभियान ¥याली कोहलपुर चौराहामा आएर सभामा परिणत भएको थियो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेशमीराज पाण्डेले पर्यटक आउँदा राजमार्ग भएर गन्तब्यमा पुग्ने भएकाले राजमार्ग सरसफाईलाई जोड दिइएको बताए । पहिलो चरणमा पूर्व पश्चिम राजमार्ग, दोस्रो चरणमा हुलाकी राजमार्ग, तेस्रो चरणमा मध्यपहाडी राजमार्ग र अरु राजमार्ग हुँदै गाउँ टोल सरसफाई अभियान सुरु हुने उनले जानकारी दिए । राजमार्गको फोहोर ब्यवस्थापन गर्न गाविस, नगरपालिका र जिविसले समन्वय उनले बताए ।
कोहलपुर चौराहामा राष्ट्रिय कलाकार जोगिन्दर (पान पसले) लगायत स्थानीय कलाकारका प्रस्तुतीहरु समेत देखाइएको थियो । कार्यक्रममा फोहोर मैला व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशक विश्वमणी ज्ञवाली, बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखक, स्थानीय विकास अधिकारी जिवलाल भुषाल, भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यात, कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेल, नगरस्तरीय बाल सञ्चाल अध्यक्ष दिपप्रसाद आचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेको सभापतित्वमा भएको भएको थियो । सरसफाई अभियानमा मध्यविन्दु नगरपालिकाबाट दुई वटा टोलीहरु निस्केका हुन् । सरसफाई दुत सीताराम कट्टेल (धुर्मुष) र कुञ्जना घिमिरे
(सुन्तली) को टोली पूर्व लागेको छ । यस्तै कलाकार जोगिन्दरको टोली पश्चिम आएको हो ।
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्