26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बर्दियामा नौसय ३२ बालश्रमिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२  

गुलरिया (बर्दिया), पुस १४ गते । बर्दियामा अहिले पनि ९३२ बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । महिला तथा बालबालिका कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रको सर्वेक्षणअनुसार ९३२ बालश्रमिकमध्ये सबैभन्दा बढी थारु जातिको रहेको जानकारी दिइयो ।

जिल्लास्तरीय सो छलफलमा केन्द्रका कार्यक्रम संयोजक निर्मल चौधरीले बालश्रमिकमध्ये ७६ प्रतिशत थारु जातिका रहेको बताउनुभयो । उहाँले २० प्रतिशत राजापुर नगरपालिकाका ११ देखि १५ वर्ष उमेर समूहका बालबालिका श्रमिक रहेको जानकारी दिनुभयो ।

केन्द्रले गरेको सर्वेक्षणमा ६६ प्रतिशत बालक र ३४ प्रतिशत बालिका श्रम गर्न बाध्य भएको पाइएको छ । उनीहरु मध्ये सबैभन्दा बढि ५२ प्रतिशतलाई घरेलु काममा लगाइएको र दुई हजारभन्दा कम ज्याला दिइएको भेटिएको छ ।

कार्यक्रमका अध्यक्ष तथा निमित्त प्रजिअ श्रीनाथ पौडेलले बर्दियामा सोमबारबाटै बालश्रम निषेधित गर्ने र नियमित अनुगमन गरिने बताउनुभयो । बालश्रमिक राख्नेमाथि कानुनी कारबाही गरिने बताउँदै उहाँले बालश्रमिक नराख्न सबै सरोकारभएका निकायलाई अनुरोध गर्नुभयो । रासस

प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२     9:56:15 AM  |