नव प्रतिभा सम्मान कथाकार न्यौपानेलाई



कोहलपुर, मंसिर ४
युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यिक भूमि ओखलढुङ्गामा क्रियाशिल नमस्ते साहित्य समाजले यस वर्षको नवप्रतिभा सम्मान बाँकेकी कथाकार सुमित्रा न्यौपानेलाई प्रदान गर्ने भएको छ ।
नेपाली भाषा साहित्यमा योगदान गरेवापत विभिन्न वाङ्मयिक श्रष्टा साधकलाई सम्मान गर्ने क्रममा मध्य पश्चिमबाट कथाकार सुमित्रा न्यौपाने छनौटमा पर्न सफल भएकी हुन् । पछिल्लो समय चर्चामा रहेको आँखा र आँखाहरु कथा सङ्ग्रहका लागि कृतिकार सुमित्रा न्यौपानेलाई उक्त सम्मान प्रदान गर्न थालिएको कुरा संस्थाका सचिब प्रकाश किरणले बताए ।
अन्य क्षेत्रबाट सम्मानित हुनेहरुमा सिद्धिचरण सम्मान पोखराका दिलिप दोषी ,गजल वर्ष सम्मान चितवनका गजलकार पुष्प अधिकारी अन्जली, साहित्य रत्न सम्मान मकवानपुरका कवि विर्खे अन्जान, युवा प्रतिभा सम्मान स्याङ्जाका जीवनपानी एवं नमस्ते साहित्य समाज सेवा सम्मान ओखलढुङ्गाका गोकर्ण बाँनियालाई प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष विष्णु दिप सङ्कल्पद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आउँदो पुष ११ गते शनिबारका दिन ओखलढुङ्गामा एक कार्यक्रम बीच उक्त सम्मान तथा पुरस्कार अर्पण गरिने संस्थाले जनाएकोे छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ४ गते शनिबार