नेपालगन्ज नाका सहज, भन्सार संकलनमा वृद्धि



नेपालगन्ज नाका सहज बन्दै गएपछि पछिल्ला दिनहरूमा नेपालगन्ज भन्सार कार्यालयको राजस्ब संकलन समेत दोब्बर बृद्धि हुन थालेको छ।

नेपालगन्ज नाका सहज बन्दै गए पछि मंसिर २४ गते पछि दैनिक करिब २ करोड भन्दा बढी राजस्ब संकलन भई रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। मधेश आन्दोलन र भारतको नाकाबन्दीले राजश्व घटेर दैनिक १० देखि १५ लाखमा झरेको थियो।

भारतीय सुरक्षाकर्मीको अवरोध हट्नुका साथै मधेशी मोर्चाका कार्यकर्ताहरुको धर्ना तथा प्रर्दशन रोकिएपछि नेपालगन्ज नाका सहज बन्दै गएको हो।

नाका सहज बन्दै गएका कारण मंसिर महिनामा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ७ प्रतिशत बढी राजश्व संकलन गरेको छ।

मंसिर महिनामा ३२ करोड ६५ लाख राजश्व संकलन गर्ने लक्ष्य रहेपनि ३४ करोड ८८ लाख राजस्ब संकलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

सामान्य अबस्थामा  नेपालगन्ज भन्सार कार्यालयले दैनिक करिब एक करोडको हाराहारीमा राजश्व संकलन गर्ने भए पनि बन्द र हडतालका कारण साउन र भदौ महिनाको भन्सार राजश्व करिब ४० प्रतिशतसम्म घटेको थियो।

नाकाबन्दी हटे पछि  खाद्यान्न तथा पेट्रोलियम पदार्थ, सिमेन्ट, कपडा र मोटर पार्ट्सका सामानहरु बोकेका करिब १ सय मालबाहक ट्रक नेपाल भित्रन थालेका छन्।

एक सातादेखि पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास भित्रिएपछि नेपालगन्जमा इन्धन तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको छ।

 

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २ गते बिहीबार