‘आर्ट अफ लिभिङ’ का लोकप्रिय आध्यात्मिक गुरु रविशंकरलाई भेट गर्न दुई साताअघि परराष्ट्रमन्त्री कमल थापा काठमाडौंबाट दिल्ली ‘ट्रान्जिट’ हुँदै एकाएक बेंग्लोर पुगे । ‘निजी भ्रमण’ भन्दै धर्मकर्मको निहुँमा निस्किएका थापाको यात्राबारे अनेक अडकलबाजी चलिरहेका बेला उनै ‘जीवन बाँच्ने कला’ का गुरु रविशंकर बेंग्लोरमा थापालाई भेटेपछि दिल्ली आएर केही दिन नेपाल परामर्शमा जुटे । नेपालको राजनीतिक घटनाक्रममा निकास पहिल्याउन रविशंकर शीर्षस्थ भारतीय राजनेताहरूसँग नित्य भेटघाटमा लागिपरेका थिए भन्ने केही ढिलो थाहा भएको छ ।
यो सहकार्यमा संयोजनकारी भूमिका निभाउने उद्यमी विनोद चौधरी यतिखेर काठमाडौंमा छन्, जो दुई साताअघि प्रधानमन्त्री केपी ओलीको सूचना र आग्रहमा दुबईबाट ‘समन्वयकारी’ बनेर बेंग्लोर पुगेका थिए । ‘धार्मिक कूटनीति’को उपाय पहिल्याएर एक महिना अन्तरमा दोस्रो पटक भारत आएका परराष्ट्रमन्त्री थापा पनि बेंग्लोर हान्निएका थिए । ‘सहमति र समझदारीको विशिष्ट राजनीतिक रोडम्याप तय हुनुपर्छ भनेर गुरुजीले निर्णायक भूमिका निभाउनुभएकै हो,’ काठमाडौं फिर्ने हतारोमा रहेका बेला चौधरीले भनेका थिए, ‘योभन्दा बढी कुरा भन्ने स्थानमा म छैन, स्थिति सहजीकरण गर्ने/गराउने कुराको यो अर्कै तहको प्रयत्न मात्रै हो ।’
नेपाल-भारत सम्बन्ध र दृष्टिकोणमा खुफिया एजेन्सीहरूकै मात्रै चर्चा हुने गरेकोमा पहिलोपटक ‘ट्रयाक-टु’ कूटनीतिजस्तो भान पर्ने रणनीतिले थोरै काम गर्न सकेको देखिन्छ, जसबारे दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय पनि जानकार थिए । तर, उनी पनि यो धार्मिक कूटनीतिको भित्री अन्तर्वस्तु पहिल्याउनतिर लागेका थिएनन् ।
बेंग्लोरबाट दिल्ली फिरेपछि परराष्ट्रमन्त्री थापाले विदेशमन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार अजित डोबलसम्मको तहमा भेटघाट गरेको मात्रै सार्वजनिक भयो । तर, अरू अन्तःस्करणका भित्री परामर्शहरू भने गुपचुपमै रहे । डिसेम्बर २ को रात बेंग्लोरबाट र्फकंदा परराष्ट्रमन्त्रीको आग्रहमा धर्मगुरु रविशंकर पनि दिल्ली आएका थिए । साथमा थिए, उद्यमी चौधरी । परराष्ट्रमन्त्री थापाले लामो समयदेखि गुरु थाप्दै आएका रविशंकर नेपाल मामिलामा सरोकार राख्ने तथा राजनीतिक र शान्ति स्थायित्वका पक्षधरका रूपमा चिनिन्छन् । ‘स्वभावतः गुरु रविशंकर कहाँ टाठाबाठा भक्तजनदेखि समाज र राष्ट्रका लागि समन्वयी बन्न खोज्नेहरू पनि पुग्छन्,’ गुरुका अर्का निकटस्थ चेला चौधरीले भने, ‘नेपालबाट पनि सयौं संख्यामा फलोअर गुरुसमक्ष पुग्छन् ।’
उच्च स्रोतका अनुसार गुरु रविशंकरसहित उद्यमी चौधरीले दिल्लीमा अर्का सफल उद्यमी जीएमआर ग्रुपका प्रमुख ग्रान्धी मल्लिकारजुना राव (जीएमआर) र मोदी मन्त्रिपरिषद्मा निकै शक्तिशाली मानिने संसदीय मामिलामन्त्री भेनकाई नायडुलाई भेटवार्ताको समन्वय गराएका थिए । चौधरीसँग लामो समयदेखिका चिनारु एवं दुबईमा संयुक्त रूपमा सफल उद्यमीको अन्तर्राष्ट्रिय अवार्ड पाएका जीएमआर स्वयं नेपालमा ९ सय मेगावाटको माथिल्लो कर्णाली परियोजना निर्माणमा तदारुकता ल्याउन ‘उचित समय’ पर्खेर बसिरहेका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ
प्रतिक्रिया दिनुहोस्