नेपालगञ्जमा एकै दिनमा दुई सयभन्दा बढी गाडी भित्रिए



बाँके, मङ्सिर २४ गते । नेपालगञ्जको जमुनाह नाका भएर बिहीवार बेलुकासम्म पेट्रोलियम पदार्थ लगायतका दुई सयभन्दा बढी मालवाहक सवारी साधन भित्रिएका छन् ।

नेपाल र भारतका सुरक्षाकर्मीहरूको कडा सुरक्षाबीच बिहीार बिहानैदेखि नेपालगञ्ज नाकाबाट सवारी साधन भित्रिएका हुन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका ईञ्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीका अनुसार भारतले अघोषित नाकाबन्दी गरेयता बिहीवार एकै दिनमा सबैभन्दा बढी मालवाहक सवारी साधन नेपाल प्रवेश गरेका हुन् ।

इलाका प्रहरी कार्यालयका अनुसार बिहीवार बेलुकासम्ममा सीमा नाका भएर डिजेलका २०, पेट्रोलका पाँच ट्याङ्कर र ग्यासका बुलेट सात तथा हवाई इन्धनका तीन गाडी नेपाल प्रवेश गरेका छन् । यसैगरी १७० वटाभन्दा बढी मालवाहक सवारी साधन पनि बिहीवार नै प्रवेश गरेका छन् ।

आन्दोलनरत मधेशी मोर्चाका नेता कार्यकर्ता नाका आसपास भएकै अवस्थामा दुई देशका सुरक्षाकर्मीहरूको उपस्थितिमा मालवाहक सवारी नेपाल प्रवेश गरेका हुन् ।

यस अघि नेपालगञ्ज नाकाबाट पछिल्लो दुई सातादेखि इन्धन लगायत अत्यावश्यक सवारी साधनहरू नेपाल प्रवेश हुन पाएका थिएनन् ।

मङ्गलबार र बुधबार इन्धन लगायतका केही सवारी साधन भित्रिएपनि दुई सातासम्म रोकिएका कारण भारततर्फ तीन सयभन्दा बढी मालवाहक सवारी साधन रोकिएका थिए । ती सबै गाडी नेपाल प्रवेश हुने क्रममा छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बिहीवारदेखि नाका सहज भएको बताउनुभयो ।

“इन्धनहरू सहज रूपमा भित्रिएका कारण केही दिनमै अभाव हट्ने अनुमान गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी लेखकले भन्नुभयो, “बिहीवारपछिका दिनमा पनि नाकामा भारतीय पक्षबाट सहजता हुने अपेक्षा छ ।”

जमुनाह नाकाबाट बिहीवार बिहानैदेखि सहज रूपमा पेट्रोलियम पदार्थ लगायतका मालवाहक सवारी साधन भित्रिन थालेपछि आम नागरिकले अब केही दिनमै अवस्था सहज हुने अपेक्षा गरेका छन् ।

भारतीय पक्षले यस अघि पनि कहिले सीमा नाका सहज पार्ने र कहिले कडिकडाउ गर्ने भएका कारण सीमाको सहजता सधैँभरि हुनेमा ढुक्क हुने अवस्था भने नभएको नेपाली पक्षको भनाइ छ । rss

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर २५ गते शुक्रबार