केशव राना
कोहलपुर, मंसिर २५
नेपालगञ्ज–रुपैडिहा नाकामा धर्ना दिने कार्यकर्ताहरु घट्दै गएका छन् । आंशिक रुपमा सञ्चालित नाका बिहीबार बिहानैबाट खुलेको छ ।
१२ देखि १५ जना सम्म मात्रै हुने मोर्चाका कार्यकर्ताहरु अहिले त्यो संख्यामा पनि घट्दै गएको
छ । कार्यकर्ताको संख्या घट्दै गएपछि नाकामा मोर्चाले धर्ना दिन छाडेको छ । बिहीबार कुनै रोकतोक बिना इन्धन, खाद्य तथा निर्माण सामाग्रीका गाडी नेपाल भित्रिएको प्रहरीले जनाएको
छ ।
दिनभर मोर्चाका कार्यकर्ता धर्नामा बस्ने भएपछि नाका अवरुद्ध हुँदै आएको थियो । तर, धर्नाबाट मोर्चाका कार्यकर्ता हटेलगत्तै भारतीय पक्षले सहज रुपमा गाडी पठाइरहेको छ । संघर्ष समिति बाँकेका प्रवक्ता समेत रहेका तमलोपाका केन्द्रीय सदस्य पशुपति दयाल मिश्राले धर्नामा बस्ने मान्छे नभएकाले नाका खुला गरिएको बताएका छन् । उनले भने, ‘मान्छे घट्दै गएकाले धर्ना नबसिएको हो, अब चाँडै बैठक बसेर नयाँ योजना बनाउँछौं ।’
उनले केन्द्रबाट आउने निर्देशन अनुसार नयाँ कार्यक्रम तय हुने बताए । प्रवक्ता मिश्रले भने, ‘केन्द्रमा पनि बैठक बसिरहेको छ, अब कस्तो कार्यक्रम आउँछ त्यसै अनुसार कार्यक्रम अघि बढ्छ ।’
बिहीबार साँझ सम्ममा डिजलका ३४, पेट्रोल ५, हवाई इन्धन ४ ट्यांकर र ७ वटा ग्याँस बुलेट भित्रिएका छन् । अन्य मालबाहक ट्रक समेत १ सय ९५ बढी नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।
एक साता सम्म ठप्प रहेको जमुनाहा नाकाबाट बुधबार १८ डिजल, ५ हवाइ इन्धन, १ मट्टितेल र ३२ मालबाहक गाडीहरु भित्रिएका थिए । बिहीबार भने ठूलो संख्यामा इन्धन सहितका मालबाहक गाडीहरु भित्रिएका हुन् ।
प्रकाशित मिति : २०७२ मंसिर २५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्