स्कूलले विद्यार्थीलाई भन्यो : डिजेल बोकेर मात्रै पढ्न आउनू
लाईन बसेर इन्धन भर्न नसक्ने भएपछि राजधानीका विद्यालयले अभिभावक संग इन्धन माग्न शुरु गरेको छ ।
राजधानीमा संचालित अधिकांस विद्यालयले इन्धन अभावले विद्यालयको सवारी साधन संचालन गर्न नसक्ने भएपछि अभिभावकसंग अनुरोध गरेर इन्धन मागेका छन् ।
अधिकांस विद्यालयले सरकारले तोके अनुसार १ सय ८० दिनसम्म विद्यालय संचालन गर्ने प्रतिबद्धता जनाउदै इन्धन जोहो गर्न थालेका हुन । जाडो बिदा अघि डिसेम्बर अन्तिमसम्म जसरीपनि कक्षा संचालन गरेर छाड्ने र सो अवधी अघि विद्यालय संचालन गर्न इन्धनको आवश्यक पर्ने भन्दै अभिभावकलाई आग्रह गरेका हुन् ।
ललितपुरको शुभतारा स्कुलले विद्यार्थीलाई मंसिर १० गते पत्र पठाएर कम्तिमा ५ लिटर डिजल उपलब्ध गराइदिन आग्रह गरेको छ । दैनिक २ सय ५० लिटर इन्धन आवश्यकता पर्ने भएकोले सकेसम्म प्रति विद्यार्थी ५ लिटर डिजल उपलब्ध गराइदिन आग्रह गर्दछौ भन्दै पत्र पठाएको हो ।
सो विद्यालयका ट्रान्सपोर्ट मेनेजर अशोक केसीले इन्धन अभावको कारण विद्यालय संचालन गर्न मुस्किल पर्ने भएकोले सबै अभिभावकसंग इन्धन मागेका हौ भन्नुभयो । मुलुकमा इन्धनको चरम अभाव भएकोले सहयोग गर्न आग्रह गर्दछौ भन्दै इन्धन मागेका हौ–उहाको भनाई थियो ।
विद्यालयले विद्यार्थी बोक्न र घर छोड्न इन्धन चाहिएकोले माग गरेको उहाको भनाई थियो । यसरी पत्र पठाएर अभिभावकसंग इन्धन मागेको यो पहिलो घटना हो । इन्धन अभावले गर्दा अभिभावक स्वयंले सवारी साधन चलाउन नसकेको अवस्थामा इन्धन माग गर्नु गलत प्रवृति हो ।
तर विद्यालयका ट्रान्सपोर्ट मेनेजर केसीले कुनैपनि अभिभावकलाई जबरजस्ती नगरेको दावी गर्नुभयो । उहाले भन्नुभयो– इन्धन जोहो नै गर्न नसक्नेगरी अप्ठ्यारोमा परेकोले अनुरोध गरेका हौ,कसैलाई जबरजस्ती गरेका होइनौ ।
‘अभिभावकले इन्धन दिएपनि हामी शुल्कमा मिलान गर्नेछौ, अप्ठायारो पर्दा सहयोग गर्ने अभिभावकलाई सधै सम्झनेछौ– उहाको भनाई थियो ।
इन्धन थाप्न बिहान लाईनमा राख्दा विद्यार्थी ल्याउन नसकिने र दिउसो बस्दा पु¥याउन नभ्याउने भएपछि विकल्पै नभएपछि अभिभावकलाई आग्रह गरिएको जानकारी दिनुभयो । करिब २० किलोमिटर क्षेत्र सम्मका विद्यार्थी बोक्ने गरेका राजधानीका विद्यालयले अधिकांस अभिभावकसंग मौखिक रुपमा आग्रह गरी इन्धन माग्ने गरेका छन् । ब्ल्याकमा इन्धन खरिद गर्दा अभिभावकलाई भार पर्ने भएकोले सरकारी मुल्यमै पाउनेगरी अभिभावकलाई आग्रह गरिएको केसीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्