कोहलपुर, मंसिर २४
बाँके कचनापुर ८ स्थित जंगलमा एक शिशु वेवारिसे अवस्थामा फेला परेका छन् । अन्दाजी दुइ–तीन महिनाका शिशु कचनापुरस्थित दुर्गा भवानी सामुदायिक वनमा बुधबार वेवारिसे अवस्थामा फेला परेका हुन् ।
जंगलमा बेलको रुखमुनी सुताइराखेको अवस्थामा फेला परेको प्रहरी चौकी ढकेरीले जनाएको छ । बच्चा रोएको सुनेपछि साइकल यात्रीले अन्य प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अम्मर गिरीका अनुसार बच्चालाई उनकी आमाले वेवारिसे छाडेको हुन सक्ने आशंका गरिएको छ ।
स्थानीय धनमाया बुढाथोकीका अनुसार बच्चासँगै प्लाष्टिकमा बच्चाले लगाउने कपडा र औषधी पनि फेला परेको छ ।
महिलाले आत्महत्या गरेको हुन सक्ने आशंका गर्दै जंगलभित्र खोजतलास गर्दा पनि नभेटिएको ढकेरी प्रहरी इन्चार्ज गिरीले जानकारी दिए । बच्चालाई उपचारका लागि भेरी अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै महादेवपुरी २ उद्देनमा एक महिलाको वेवारिसे शव फेला परेको गिरीले बताए । मानसिक सन्तुलन ठिक नभएकी अन्दाजी ५६ वर्षीया महिलाको शव फेला परेको हो । महिलाको नाम, थर, वतन केही नखुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७२ मंसिर २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्