केशव राना
कोहलपुर, मंसिर २४
कटुवा पेस्तोल र गोली सहित बाँकेमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका २६, मनिकापुरबाट ४० वर्षिय अशोक कुमार बर्मालाई कटुवा पेस्तोल र विभिन्न गोलीहरु सहित पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँ बस्ने जगतराम लोनियाको घरबाट पनि गोलीहरु बरामद गरिएको छ । जगतराम लोनिया चोरीमा संलग्न भएको आशंकमा यसअघि नै पक्राउ परिसकेका छन् ।
बर्माको घरबाट कटुवा पेस्तोलको गोली, एसएलआर र ३०३ राइफलको गोली ३ राउण्ड, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा (गोली) ९० वटा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै लोनियाको घरबाट सटगन गोली २ राउण्ड र फायर भएको ४ वटा खोका बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्माको साथबाट बारबोर पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपी राजिवकुमार बस्नेतले जानकारी दिए । ‘बारबोरको लाइसेन्स छ भनेर भनेको छ अनुसन्धान जारी छ’ उनले टेलिफोनमा भने । इप्रका कोहलपुर र सशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरको संयुक्त टोलीले तीन दिनदेखि मनिकापुरमा निगरानी गरिरहेको थियो ।
यस्तै यसअघि मनिकापुरबाटै चोरीमा संलग्न भएको आशंका गर्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ४ जनालाई तारेखमा छोडिएको र ५ जनालाई अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी
दिए ।
प्रकाशित मिति : २०७२ मंसिर २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्