20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मधेसी मोर्चाका नेतासँग किन भेट्न मानेनन् मोदी ? वार्तामा बस्न दिल्लीको दबाब

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२  

Narendra-Modi-Dhoti

काठमाडौं, २३ मसिंर । चार दिने भारत भ्रमणमा रहेका मधेस आन्दोलनका नेतृत्वकर्तासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न मानेनन् ।

आन्दोलनमा भारतको थप समर्थन पाउन दिल्ली गएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु मोदीलाई नभेटेरै बुधबार स्वदेश फर्किएका छन् । उनीहरुलाई वार्तामा बस्न भारतका सबै पक्ष र स्वयं मोदी सरकारले दबाब समेत दिएको छ ।

भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले सरकारको विरोध गरेपछि कुटनीतिक तहमा हुनसक्ने थप विरोध र इस्युलाई आँकलन गरेर मोदीले मधेसी मोर्चाका नेतासँग भेट्न नमानेको भारतीय विश्लेषकहरुको दाबी छ ।

‘कश्मिरका आन्दोलनकारीलाई पाकिस्तानले भेट्दा दिल्लीले बिरोध गर्ने तर नेपालका प्रदर्शनकारीलाई भने प्रधानमन्त्रीले नै भेट्दा नकारात्मक सन्देश जाने’ देखिएपछि मोदीले मधेसी मोर्चाका नेताहरुलाई नभेटेका हुन । यसअघि मोदीलाई भेट्न मोर्चाका नेताहरु मंगलबार साँझसम्म पर्खिएका थिए ।

भारतले मधेसका नेताहरुसँग लचिलो भएर नाकाबन्दीको विकल्प खोज्दै वार्तामा बस्न मधेसका नेता तथा नेपाल सरकारलाई सन्देश दिएको छ । वार्तामार्फत सहमति गरी संविधान संशोधनबाट समस्या हल गर्नुपर्ने भारतको भनाई रहेको र त्यसमा समेत मधेसी मोर्चाले अवरोध कायम गरे अरु विकल्प खोज्न नेपाल सरकार स्वतन्त्र रहेको धारणा भारतले भर्खरै सार्वजनिक गरेको थियो ।

आइतबार दिल्ली पुगेका मधेसी नेताहरुले यसअघि भारतीय बिदेश मन्त्री सुष्मा स्वराज, विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटगरी मधेस आन्दोलनबारे जानकारी गराएका थिए । तर, मधेसी मोर्चाले भेटेकै नेताहरुले भारतको राज्य सभामा नेपाल विषयमा बहस गर्दै मोदी सरकारले नेपालमाथि नाकाबन्दी गरेर कुटनीतिक रुपमा नेपाल मामिलामा भारत असफल भएको भन्दै तीब्र आलोचना गरेपछि मधेसी मोर्चा निराश बनेर फर्किएको हो ।

भारत र मोदी सरकारको दबाबपछि अब मधेसी मोर्चासँग वार्तामा बस्नुको विकल्प छैन् । यसअघि आजै विहान राजेन्द्र महतोले नरम भएर लचकतासाथ सरकारसँग वार्तामा बस्ने बताइसकेका छन् ।

प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२     2:54:41 PM  |