16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सिमसार दिवसको अवसरमा राप्ती नदीमा गोही छाडियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९  

कोहलपुर, १९ माघ : राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, स्थित राप्ती नदीमा १० वटा गोही (घडियाल) छोडिएको छ । सिमसार दिवसको अवसरमा बुधबार एक कार्यक्रमका बीच नदीमा १० वटा गोही (घडियाल) छोडिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जद्वारा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुनाले नदीमा छोडेकी थिइन् । बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–१ स्थित राप्ती नदीमा छोडेकी हुन् । उक्त अवसरमा बोल्दै उनले सिमसार क्षेत्रको संरक्षण अहिलेको आवश्यकता भएको बताइन् । प्राकृतिकरुपमा धनी रहेको नेपालका यस्ता विभिन्न प्रकारका प्रजातिहरुको संरक्षण आवश्यक रहेकोमा मन्त्रीले दिइन् । यसबाट प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा यसले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।


निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौवटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् । निकुञ्जका प्रमुख श्याम साहका अनुसार सिमसार क्षेत्रको पुनस्र्थापना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । यसअघि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा आजको आवश्यकता सिमसारको पुनः स्थापना भन्ने नारासहित अन्तरक्रियासमेत गरिएको उनले बताए । सहरी प्रदूषण र अतिक्रमण, गिटीबालुवाजस्ता प्राकृतिक स्रोतसाधनको तीव्र दोहन र मानवीय जीवनचर्याको अति निर्भरताका कारण सिमसार क्षेत्र मासिँदै गएको छ ।

सिमसार क्षेत्रको पुनस्र्थापना जरुरीः मन्त्री नमुना
सिमसार क्षेत्रको पुनस्र्थापना आजको प्रमुख आवश्यकता रहेको लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले बताएकी छिन् । बाँके राष्ट्रिय निकुञ्जले बिहीबार सिमसार दिवसको अवसरमा गरेको एक कार्यक्रममा बोल्दै उनले पुनस्र्थापना र संरक्षणमा जोड दिएकी हुन् ।
प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा सिमसारले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउँदै मन्त्री केसीले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताइन् ।

‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।’ उनले भनिन् । मन्त्री केसीले सिमसार क्षेत्रको पुनस्र्थापनाको साथै यसको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको दाबी गरिन् । सिमसार क्षेत्रहरुको संरक्षण गर्नुपर्ने दायित्व सबैको रहेको मन्त्री केसीले दाबी गरिन् । स्थानीय स्तरमा रहेका सिमसारहरुको संरक्षणको लागि स्थानीय नागरिकहरुलाई नै अग्रसर गराउनुपर्ने उनले बताइन् ।

‘सिमसार क्षेत्रको महŒव स्थानीयलाई बुझाएर संरक्षणमा उहाँहरुलाई नै अग्रसर गराउनुपर्छ,’ मन्त्री केसीले भनिन्, ‘त्यसबाट स्थानीयलाई आय आर्जनका लागि राज्यले वातावरण गराउनुपर्छ ।’ निकुञ्ज क्षेत्रका बासिन्दालाई संरक्षणको महŒव बुझाएर आय आर्जनमा जोड्नुपर्ने उनले बताइन् । स्थानीयलाई आयआर्जनमा जोड्न नसक्ने र संरक्षण मात्रै भन्ने हो भने त्यो सम्भव नहुने उनले दाबी गरिन् ।
‘निकुञ्ज क्षेत्रका बासिन्दालाई संरक्षणमा मात्रै जोडेर हुँदैन,’ मन्त्री नमुनाले भनिन्, ‘संरक्षणवापत स्थानीयलाई आर्थिकरुपमा सवल हुने बाटो खोज्नुपर्छ । अनीमात्र संरक्षणले सफलता पाउँछ ।’

प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९     8:59:30 AM  |