19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

खसीबोका बेच्न भ्याइनभ्याई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

शिवु खनाल । दाङ ।

दसैं सुरु भएसँगै दाङका बाख्रापालक किसानलाई खसीबोका बिक्रि गर्न भ्याइनभ्याई रहेको छ । दाङको लमही नगरपालिका– ७, ८ र ९ लाई बाख्रा हबको रुपमा विकास योजनाका साथ स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्न थालेपछि किसान खसीबोका बिक्रि गर्न व्यस्त भएका हुन् । विशेषगरी महिलाहरु खसीबोका पालनतर्फ आकर्षित छन् ।

उनीहरु महिला सहकारी स्थापना गरी समूहमा आवद्ध भएर सहुलियतमा ऋण लिने र व्यवसायिक रुपमा बाख्रापलन गर्दै आइरहेका थिए । लमही–७ बनघुस्रीमा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पुनम घर्तीले सहकारी संस्थाका ४ सय जनाले बाख्रा पालन गर्दै आएको जानकारी दिइन् । उनका अनुसार उक्त सहकारीमा एक हजार छ सय जना महिला आवद्ध छन् ।

उनीहरुमध्ये २० देखि २५ जनाले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएको उनले रोजेको जानकारी दिइन् । गतवर्षको तुलनामा यसवर्ष खसीबोका ३० प्रतिशतले बढेका छन् । बजारीकरणको लागि स्थानीय सरकार, गैरसरकारी संस्थासँग समेत पहल गरिरहेका छन् । किसानसँग खसीबोका खरिद गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय बजारमा बिक्रि गरिरहेको उनको भनाइ छ ।

देउखुरी उपत्यकामा बाख्रापालनलाई मुख्य प्राथमिकता बनाएर लमही–१ निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था, समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाले एकसय २० गोटा, ७ नम्बर वडाको दिपन सामाजिक उद्यमी महीला सहकारी र वडा नम्बर ९ को कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले काम गरिरहेका छन् ।

यसवर्ष निलकमलले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दुई सय गोटा खसीबोका बिक्रि गरेको छ । यस्तै दिपनले दुई सय, समुन्नतीले एकसय २० गोटा र कर्मठले ४ सय गोटा खसीबोका बिक्रि गरेका हुन् ।

स्थानीय बजारको भन्दा राम्रो मुल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएकाले किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बढी भन्दा बढी खसीबोका खरिदको लागि आग्रह गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ केजी सम्मको जिउँदो खसीलाई पाँच ५० प्रतिकिलो २५ देखि माथि पाँचसय ६५ प्रतिकिलो खसी खरिद गर्ने गरेको छ ।

यस्तै बोकाको पाँचसय ४५ प्रतिकिलोका दरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयका बरिष्ठ सहायक रुद्र देवकोटाले आफुहरुको बजेट सिलीङ अनुसार मात्र खसीबोका खरिद गर्ने भएकाले धेरै परिणामा उठाउन नसक्ने बताए ।

‘मूल्य सरकारले तोकेअनुसार नै दिने गरेका छौ, तर कोटा सिमित हुने भएकाले स्थानीयले बढाउन माग गरिरहेका छन् । देउखुरी क्षेत्रमा खसीबोकाको उत्पादन बढी भएको देखियो’ उनले भने ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     12:14:51 PM  |